back
CTIZAN AD

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

वि.सं.२०८२ असार २१ शनिवार

2.1K 

shares

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताए ।

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ । पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताउनुभयो । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनी बताउछन् ।

“हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उनले भने, “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाए ।

आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताए । आफूले झण्डै एक हजार ७०० भेडा पाल्दै आएको उनको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउछन् । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले सुनाए ।

उनले भने, “बुकीपाटन त हामीजस्ता गोठलाको लागि घाँसको भण्डार हो, यहाँ जति गए पनि जति भेडा चराए पनि चार÷पाँच महिनालाई प्रस्त घाँसले पुग्छ, यहाँको घाँस पोषिलो हुने हुँदा भेडा सप्रिन्छन्, त्यसले गर्दा बर्खाको समय बुकीपाटन आउँछौँ, अहिले त गोठाला मात्रै होइन, पर्यटक पनि बुकीपाटन आउन थाले, उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन्, के–केमा आउँछ हेर्नु होला भन्छन्, हामीसँग मोबेल (मोबाइल) पनि छैन, केही छैन के बाट हेर्ने ?”

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बँेसी झर्ने गर्छन् । भैरवाहदेखि बुकीपाटन आएको प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताए । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उनको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाए ।

“बुकीपाटनमा म पहिलोपटक आएको हुँ, यति अग्लो उचाइमा पहिलोपटक आएको, त्यसमाथि जिन्दगीमै पहिलोपटक पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ, यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ”, ज्ञवालीले भने, “यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भए, अहिले छोटो समयका लागि आएको थियौँ, अर्को पटक आउँदा धेरै दिन बस्ने गरि आउने छौँ ।”

 

वि.सं.२०८२ असार २१ शनिवार १०:२० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...