जुनसुकै समाजमा हर व्यक्तिले आलोचनाको सामना गर्नुपर्छ । समाजमा आलोचनारहीत कुनै व्यक्ति हुन सक्दैन । अहिले हाम्रो देशमा प्रायगरी राजनीतिक नेता, कर्मचारीतन्त्र, व्यापारी आदिलाई गाली गर्ने चलन व्याप्त देखिन्छ । कुनै पनि वस्तु वा समाजमा हुने अन्तरविरोधको कारणले नै विकासको प्रक्रिया अघि बढ्ने हो । हरेक कार्यका सकारात्मक र नकारात्मक दुबै पाटा हुन्छन् । समाजमा द्वन्द्व अपरिहार्य हुन्छ र यसको रुपान्तारणले समाजको गति अग्रगमनतर्फ लैजान्छ । आलोचना भनेको कसैको वा केहिको नकारात्मक वा सकारात्मक गुणहरूको बारेमा निर्णयको निर्माण गर्नु हो । आलोचना तुरुन्त टिप्पणीदेखि लिएर विस्तृत लिखित प्रतिक्रियासम्म हुन सक्छ ।
मुख्यगरी आलोचना तीन प्रकारका हुन्छन् : विनाशकारी, रचनात्मक र शिक्षाप्रद। विनाशकारी आलोचनाले मानिसलाई दुःखी बनाउन सक्छ । कहिलेकहीं अप्रिय कुराले मानिसलाई रुवाउ‘छ पनि । रचनात्मक आलोचनाले दुबै थरीलाई फाइदा हुन सक्छ, सम्बन्ध अझ कसिलो बनाउँछ र यसले समस्या पहिचान गरी समाधान प्रदान गर्दछ । निर्देशनात्मक आलोचनाले कसैलाई थाहा भएको कुरामा थप्छ । यो प्राय गरी आफूभन्दा माथिका मानिसले आफ्ना सहकर्मी तथा शुभचिन्तकहरुलाई दिइने चलन छ । घर परिवारमा आमाबुबाले आफ्ना छोराछोरीहरुको भलाईका लागि नै यस्ता निर्देशनात्मक वा शिक्षाप्रद् सन्देश दिन सक्छन् ।
अर्को अर्थबाट हेर्दा परम्परागत आलोचना, समाजशास्त्रीय आलोचना, नयाँ आलोचना, पाठक–प्रतिक्रिया आलोचना, नारीवादी आलोचना, माक्र्सवादी आलोचना, र मिडिया आलोचनाहरू धेरै सामान्य मानिन्छन् । शंकास्पद कुरा के छ भने आलोचनाको उद्देश्य सधैं त्यस्तो र त्यस्तो कामको बारेमा राम्रो वा नराम्रो कुरा हो भन्ने दाबीलाई समर्थन प्रदान गर्नु हो । धेरै राम्रो आलोचनाले मात्र यो वा त्यो कामको बारेमा राम्रो कुरा हो भनेर दाबी वा संकेत गर्दछ । यो ठूलो चासोको विषय हुन सक्छ । दुबै प्रकारका प्रतिक्रियाहरूले हाम्रा गल्तीहरू, त्रुटिहरू, वा सम्भावित सुधारहरू औंल्याउँछन् । तर जब रचनात्मक आलोचनाले उत्थान गर्छ, सुझावहरू प्रदान गर्दछ, र सम्भावित समाधानहरू पनि प्रदान गर्दछ भने नकारात्मक आलोचनाले कुरा काट्ने, अपमानजनक, र कहिलेकाहीँ असफलताहरूको खिल्ली उडाउँछ ।
अब हामी आलोचनाको कसरी सामना गर्ने भन्ने सम्बन्धमा केही विवेचना गरौं —
१. हर आलोचनाबाट आत्तिनु हुँदैन
हामीहरु आलोचनाबाट डराउनु हुँदैन । हर आलोचना धर्यपूर्वक सुन्नुपर्छ र त्यसको बुद्धिमानीपूर्वक सम्बोधन गर्ने बानी बसाल्नु राम्रो हुनेछ । किनभने यो सुधारको अवसर पनि हो । त्यसैले आलोचनाको मित्रवत ढङ्गले व्यवहार गर्नु उपयुक्त मानिन्छ । तथापि यो आलोचना त्यस व्यक्तिले किन गर्दैछ भन्ने कुरा प्रति भने सचेत हुनै पर्छ । यसको मूलकारण के हो ? सो को विभित्र कोणबाट विश्लेषण गर्नु पर्दछ ।
२. कसैले भनेका कुरा भित्री मनदेखि नलिनु
सबै मानिसहरु र व्यक्त विचारहरु आफ्ना जस्तै हुन्छन् भन्ने कुनै प्रत्याभूति हुँदैन । त्यसैले आलोचनालाई राम्रोसँग सुन्ने, बुझ्ने र सो अनुरुप सकारात्मक ढङ्गले लिने गर्नु उत्तम उपाय हो । तर सधैंभरी भित्री मनमा राखीरहनु राम्रो हुँदैन । यसले आफैलाई हानी गर्दछ वा भित्रभित्रै आफूलाई जलाई रहेको हुन्छ ।
३. सही कुरा स्वीकार गर्ने र गलत कुरा छोड्ने
आलोचना विभिन्न जोड र कोणबाट आएका हुन्छन् । त्यसैले हर आलोचनाका सही कुरा स्वीकार गर्ने र गलत कुरा भएमा त्यसलाई सच्याउने बानी बसाल्नु पर्छ । आलोचनाबाट शिक्षा लिई गलत लत् छोड्न सकियो भने जीवन प्रगतितर्फ उन्मूख हुन्छ ।
४. आलोचनालाई सजिलैसंग ग्रहण गर्ने
हामीले आलोचनालाई सजिलैसँग ग्रहण गर्नु बुद्धिमानी मानिन्छ । आलोचनालाई कहिल्यै पनि नकारात्मक किसिमले नलिनु नै राम्रो हो । किनभने कुनै पनि कुराको प्रतिक्रियामा शक्ति लुकेको हुन्छ । स्वस्थ आलोचनाले मानिसलाई प्रगति तर्फ डो¥याउँछ भने खराब आलोचनाले व्यक्तिलाई सुधार्ने मौका प्रदान गर्दछ । तर हर व्यक्तिले यसबाट पाठ सिक्ने गर्नुपर्छ ।
५. सबैलाई खुसी बनाउन सकिदैन
हरेक कार्यले कसैलाई फाइदा गर्छ भने कसैलाई हानी पनि गर्न सक्छ । समाजधनी र गरिब वर्गमा विभाजित छ । त्यसैले हर मानिसका आफ्ना वर्गीय दृष्टिकोण हुन्छन् । व्यक्तिको वगीर्य आवश्यकता, प्राथमिकता र मोह अनुसार दृष्टिकोण निर्माण हुने गर्दछ । वर्गयुक्त समाजमा समाजसेवी तथा राजनीतिक नेताले सामाजिक, आर्थिक र राजनीतिक निर्णय गर्दा सबैलाई खुसी पार्न सकिदैन । त्यसैले वहुजन हितायः र वहुजन सुखायःको सिद्धान्त अपनाउनु नै बेश हुन्छ । यसको मतलब निर्णय गर्दा मध्यममार्ग अप्नाउ‘दा सुरक्षित हुन सकिन्छ भन्ने हो । नेतृत्वले सबैलाई संतुलनमा राख्नु नै कल्याण हुन्छ ।
निष्कर्ष
व्यक्तिको वगीर्य आवश्यक्ता, प्राथमिकता र मोह अनुसार विचार निर्माण हुने हो । कुनै पनि वस्तु वा समाजमा हुने अन्तर्विरोधको कारणले नै विकासको प्रक्रिया अघि बढ्ने हो । वास्तवमा, रचनात्मक आलोचनाले आफू र आफूले प्रतिक्रिया दिनुभएको व्यक्ति दुवैलाई व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्न सहयोग गर्न सक्छ । इमानदार, आलोचनात्मक प्रतिक्रियाले वास्तवमा मानिसको सम्बन्धलाई विगार्नुको सट्टा बलियो बनाउन सक्छ । रचनात्मक आलोचना अभ्यास गरेर, हामी खुलापन र विश्वासको वातावरण निर्माण गर्न सक्छौं । कहिल्यै पनि आलोचनादेखि डराउनु हुँदैन । आलोचनाको कुशल व्यवस्थापन भनेकै सबैलाई सन्तुलनमा राख्नु हो । यो कुरा परिवार, समुदाय, संघ संस्था, कम्पनी वा फर्म, राजनीतिक दल आदिमा लागू हुन सक्छ । बास्तवमा सही आलोचनामा ठूलो शक्ति लुकेको हुन्छ । सामाजिक विभेद्, अन्याय, अत्याचार, शोषण, दमन, असमान आर्थिक तथा सामाजिक संरचनाको विरुद्धमा लड्दा लाखौं जनताको साथ र समर्थन पाइन्छ । अस्तु ।
वि.सं.२०८२ असार ३२ बुधवार १३:४२ मा प्रकाशित






























