एक जना महिला अंग्रेजी सिकिरहेकी थिइन्। आफूले सिकेको भाषा अभ्यास गर्न उनले भेट भएका मानिसहरूसँग सकेसम्म अंग्रेजीमै बोल्ने प्रयास गर्थिन्। एकदिन उनी फलफूल पसलमा गइन् र भनिन्, “गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (Give me a kg destroyed husband)! कहिल्यै नाम नसुनेको “डिस्ट्रोयड हस्बेण्ड” फलफुलको नाम सुनेर फलफुल पसले छक्क पर्यो। पसलेले अक्क न बक्क पर्यो-के हो यस्तो विचित्रको फल? यस्तो फल त हामीसँग छैन नि! त्यसपछि ती महिलाले नासपाती देखाउँदै भनिन्, “उ त्यो फल।” पसलेले अर्थ लगायो- “डिस्ट्रोयड” (destroyed) भन्न खोजेको “नास” (नष्ट भएको) र “हस्बेण्ड” (husband) भन्न खोजेको “पति” अर्थात् “नासपती”!
धर्म भनेको आस्था हो- यो देखावटी तडक–भडक, मेला–महोत्सव वा व्यापार होइन। धर्मको सार नैतिक आचरण, सामाजिक व्यवहार, र मानव कल्याणमा आधारित मूल्य र मान्यतामा निहित हुन्छ।
अहिले साउन महिना सुरु भएको छ- शिवजीको प्रिय महिना। गाउँदेखि सहरसम्म, बजारदेखि चौकसम्म, हरियो र पहेलो चुरा–पोते, हातभरि मेहन्दी, अनि पहेँलो–हरियो वस्त्रमा सजिएका महिलाहरू देखिन्छन्। कतिपय पुरुषहरू पनि त्यही रंगको कपडामा देखिन्छन। सिधारुपमा हेर्दा लाद्गछ यी सबै वस्त्र र श्रृंगार शिवजीलाई प्रसन्न पार्नका लागि हो। तर गहिरिएर हेर्यो भने, जति धार्मिक भावना छ, त्यो भन्दा बढी -सामाजिक प्रदर्शनको चाहना। धार्मिक देखिनु, परम्परागत संस्कार पालन गर्ने व्यक्ति प्रमाणित गर्नु छ। गाउँ-छिमेक-समाजमा ‘संस्कारवान’ बन्ने होडमा यस्ता पहिरन लगाउने गर्दछन। कोही त “फेसनेवल” हुने सोखले यो नाटक गर्दछन। यी सबै अभ्यासको मूलमा थोरै परम्परा र धेरैजसो उपभोक्तावादी बजार संस्कृति झल्किन्छ। बजारले धर्मलाई ‘ट्रेंड’ बनाइदिएको छ र हामीले त्यो ट्रेन्डलाई आस्था ठानेर पछ्याएका छौं। ती अंग्रेजी शिकारु महिलाको बुझाईमा नासपतिलाई अंग्रेजिमा “डिस्ट्रोयड हस्वेण्ड” भन्नु जती सत्य छ त्यतिनै धर्ममा पुन्यको लागि गरिने कर्मकाण्डि कार्य।
म दैवी शक्ति वा अदृश्य शक्तिप्रति विश्वास गर्दिन। तर, जो कोही धर्ममा आस्था राख्छन्, म तिनीहरूको विश्वासप्रति सम्मान गर्दछु। मेरो बुझाइमा धर्म भनेको आस्था हो- यो देखावटी तडक–भडक, मेला–महोत्सव वा व्यापार होइन। धर्मको सार नैतिक आचरण, सामाजिक व्यवहार, र मानव कल्याणमा आधारित मूल्य र मान्यतामा निहित हुन्छ।
व्यक्ति आ–आफ्नो बुद्धि, विवेक, तर्कशीलता र जीवन–जगतप्रतिको बुझाईको आधारमा आस्तिक वा नास्तिक हुनु स्वाभाविक हो। तर अचम्म लाग्ने कुरा के छ भने- कतिपय आफूलाई भौतिकवादी वा कट्टर कम्युनिस्ट भन्न चाहनेहरू समेत अदृश्य, अलौकिक शक्तिप्रति नतमस्तक हुँदै गहिरो भक्तिभाव प्रदर्शन गर्छन्। यस्तो दृश्यले कहिलेकाहीँ मलाई उदेक लाग्छ र त्यस्ता ब्यक्तिप्रती दयाभाव जाग्दछ।
मलाई थाहा छ- धर्ममा प्रश्न निषेध छ। विश्वासमा प्रश्न हुँदैन। त्यो विश्वास मिथकबाट स्थापित भएको हो हो भने विश्वासमा विश्वासको कमी हुन्छ र त्यहा प्रश्न उठ्नु पर्दछ। विज्ञान, इतिहास र दर्शनको दृष्टिकोणबाट हेर्दा, धर्मका धेरै स्वरूप कल्पनाका संरचनाहरू हुन्। हिन्दू धर्मका महादेव शिव- सबैभन्दा रहस्यमयी र बहुआयामिक पात्र मानिन्छन्। उनी श्मशानवासी हुन्, योगी हुन्, उग्र क्रोधका प्रतीक हुन् र एक प्रेममय गृहस्थ पनि।
ऋग्वेदमा शिवको उल्लेख “रुद्र” को रूपमा गरिएको छ। एक यस्ता देवता, जो क्रोधित, विनाशकारी तथा रोग फैलाउने शक्ति स्वरूप प्रस्तुत गरिन्छन्। यस्तो चित्रण शिवको आज प्रचलित “दयालु” रूपसँग मेल खाँदैन। वास्तवमा, शिव कुनै ऐतिहासिक व्यक्ति होइनन्; उनी “अस्तित्व” होइन, चेतनाको एक “सांस्कृतिक संरचना” हुन्। शिव एक मिथक हुन्। मानवीय डर, अनुउत्तरित रहस्यहरु, मृत्युबोध र नैतिकताको आकांक्षालाई मूर्त रूप दिन निर्मित एक पात्र।
यदि मानौं कि शिव साँच्चिकै देवादी–देव हुन्; शिवलिङ्ग प्राचीन कालको केवल प्रजनन शक्तिको (फर्टिलिटी) पूजा नभई परम तत्त्वको प्रतीक हो; र शिव नै सम्पूर्ण सृष्टिका निर्गुण–निराकार र सगुण–साकार रूपका स्वामी हुन् भने, यस्तो अवधारणाको प्रकाशमा म केही प्रश्नहरू उठाउन चाहन्छु।
मेरा यी प्रश्नहरू वर्तमान सन्दर्भका हुन्, जसको उद्देश्य आस्थाको अपमान होइन, विमर्शको सिर्जना गर्नु हो। यदि मेरा विचारहरूले तपाईंको विश्वासमा कुनै चोट पुर्याएको अनुभूति भयो भने, म विनम्र क्षमाप्रार्थी छु।
लैङ्गिक विभेद र शिव–उपासना:
साउन महिनालाई भगवान शिवको महिना भनिन्छ। मान्यता अनुसार यस महिनामा भगवान शिव स्वयं पृथ्वीमा अवतरित हुन्छन्। धर्मशास्त्रका व्याख्याकारहरू भन्छन्- पार्वतीले शिवलाई पति रूपमा प्राप्त गर्न साउन महिनाभरि कठोर व्रत, उपवास र तपस्या गरिन्। त्यसैको आधारमा महिलाहरूले शिवलाई प्रसन्न पार्न व्रत बस्ने, चुरा–पोते, मेहन्दी र हरियो वस्त्र लगाउने परम्परा कायम भएको पाइन्छ। विश्वास गरिन्छ—यसरी शिवको आराधना गरेमा अविवाहित महिलाले आफूले कल्पना गरेजस्तो असल पति पाउँछिन् भने विवाहित महिलाका लागि पतिको दीर्घायु, आरोग्य र सन्तान-सुख प्राप्त हुन्छ।
तर प्रश्न उठ्छ—के शिव यति लैङ्गिक विभेदकारी छन? धार्मिक परम्परा, व्रत र उपासना प्रायः महिलालाई केन्द्रमा राखेर बनाइएको देखिन्छ। पुरुषहरूका लागि न त ” असल पत्नी प्राप्त गर्न” कुनै व्रत छ, न त विशेष प्रतीक प्रयोग गर्ने परम्परा। के यसले पुरुषलाई “उच्च” र महिलालाई “दोस्रो दर्जा”मा राख्ने संस्कारको पुष्टि गर्दैन?
यी परम्पराहरू प्रायः पुरुषप्रधान समाजमा जन्मिएका हुन्- जहाँ पितृसत्ता नै समाजको मूल ढाँचा थियो। तर के यी प्रथाहरू आजको समय सापेक्ष छन् ? शिवको अर्थ “कल्याण” भनिन्छ—तर के त्यो कल्याण लिङ्ग, जात, वर्ण, भूगोल हेरेर मात्र बाँडिनुपर्ने कुरा हो ?
साउनको सुरुवातसँगै महिलाहरूले हरियो चुरा र मेहन्दीलाई “सौभाग्यको प्रतीक” मान्छन्। तर जब “सौभाग्य” पुरुषसँग जोडिन्छ, पुरुषका लागि कुनै प्रतीक चिन्ह, कुनै सांस्कृतिक अनुष्ठान किन छैन ? यदि शिव–संसार वास्तवमै विभेदरहित छ भने, यस्ता विभेदकारी प्रथाहरूलाई प्रवर्धन गर्ने पुरोहित वर्ग, धर्मशास्त्रका ठूला ठेकेदारहरूलाई प्रश्न किन नगरिएको ?
समानताको कुरा गर्ने हो भने—यस्ता लैङ्गिक विभेदकारी व्रत, विधि, र परम्पराहरू समयअनुसार पुनर्विचार हुनु अपरिहार्य छ। श्रीमानलाई “देवता” जस्तै मानेर आफैलाई दोस्रो दर्जामा राख्ने सोचले महिलाको मुक्ति सम्भव छैन।
यदि हामीले यी परम्पराहरूलाई “संस्कार” भन्दै अन्धानुकरण मात्र गरिरह्यौं भने, हामी सतीप्रथा जस्ता क्रूर परम्पराहरूलाई पनि न्यायोचित मान्न थाल्नेछौं। त्यसैले, महिला अधिकारको रक्षाका लागि, धर्म, परम्परा र संस्कारको नाममा भएका विभेदकारी अभ्यासहरूको रूपान्तरण आवश्यक छ। यस यात्रामा महिला मात्र होइन, समाज रूपान्तरणका लागि हामी सबैको साझा प्रयास जरुरी छ।
सामाजिक न्यायको बिरुद्द:
वेदमा शिवको पूजा रुद्रका रूपमा गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौँ अध्यायमा रुद्रका विविध स्वरूपको वर्णन पाइन्छ। उहाँलाई सुखप्रदायक, पापनाशक, र भक्तहरूको कल्याणकर्ता मानिएको छ। शिवको उपासना गरेर भक्तहरूले सुख प्राप्त गर्नु, कल्याण पाउनु स्वाभाविक रूपमा सकारात्मक र वाञ्छनीय कुरा हो। तर, यहाँ एउटा गम्भीर प्रश्न उठ्छ- के ‘पाप’ गरेको मानिसले शिवलाई प्रसन्न पारेर क्षमा पाउनु सामाजिक र नैतिक दृष्टिले उचित हो?
महर्षि व्यासले भनेका छन्- “परोपकारः पुण्याय, पापाय परपीडनम्“, अर्थात्, परोपकार पुण्य हो र परपीडा पाप। सामान्य भाषामा भन्दा, त्यस्ता सबै कार्य जसले आध्यात्मिक, सामाजिक, आर्थिक, वा नैतिक मूल्यमा ह्रास ल्याउँछ, वा मानवता र प्रकृतिको विनाश गर्छ, ती ‘पाप’ हुन्। हत्या गर्नु, चोरी गर्नु, परस्त्रीगमन गर्नु, असत्य बोल्नु, अपमानजनक शब्द प्रयोग गर्नु, भष्ट्राचार गर्नु, निन्दा गर्नु, लोभ, द्वेष, र दुर्भावना राख्नु- यी सबै पापका रूपमा वर्णित छन्।
अब सोचौं; यदि कुनै व्यक्ति, जेसुकै अपराध गरेपनि, केवल शिवको कृपा प्राप्त गरेर ‘पापमुक्त’ हुन्छ भने, के यसले अपराधीको मनोबल बढाउँदैन? के यसले सामाजिक न्यायको मूल आधारलाई नै कमजोर पार्दैन? दुष्कर्म गर्ने, हत्या, बलात्कार, डकैती, झूट, छलकपट जस्ता कार्यमा संलग्न व्यक्तिलाई पनि केवल पूजा वा व्रतको माध्यमबाट क्षमा दिनु, न त धर्मसंग मेल खान्छ, न सामाजिक न्यायको सिध्दान्तले।
कल्याणकारी उद्देश्यले, परोपकारको भावले प्रेरित भई अरूको भलो गर्नेहरूलाई शिवले आशीर्वाद दिनुमा मेरो कुनै गुनासो छैन। तर, जसले मानवता र नैतिक मूल्यको खिल्ली उडाउँछन्, तिनलाई पनि सहजै क्षमा गर्ने धारणा खतरनाक हुन सक्छ।
अतः, पापलाई क्षमा गर्नुहुन्न भन्ने चेतना जागृत हुनु अत्यावश्यक छ। अपराधको कुनै धार्मिक आवरणमा उन्मुक्ति होइन, जवाफदेहीको सिद्धान्तमा मूल्यांकन हुनुपर्छ। केवल धार्मिक आस्था वा पूजा–पाठले होइन, कर्म र जिम्मेवारीको मूल्यमा न्याय स्थापित हुनुपर्छ।
विज्ञानको चुनौती: एक विवेकशील प्रश्न
भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा सुनाउने क्रममा भनेको भनाइ प्रचलित छ- “मेरो दाहिने आँखा सूर्य हो, बायाँ आँखा चन्द्रमा र तेस्रो, अर्थात् बीचको आँखा अग्नि हो।”
तर विज्ञान भन्छ, सूर्य, चन्द्रमाको तुलनामा करिब ४०० गुणा ठूलो छ। यस्तो स्थितिमा, यदि शिवका आँखा साँच्चै सूर्य र चन्द्रमा हुन् भने, तिनको आकारमा पनि आकाश–पातालको भिन्नता देखिनुपर्ने हो। सायद “आँखा” भन्ने शब्द प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो, तर यहाँबाट केही गम्भीर प्रश्नहरू पनि जन्मिन्छन्।
आज चीन, अमेरिका, भारत, रुस लगायतका राष्ट्रहरूले चन्द्रमामा यान पठाइसकेका छन्। चन्द्रमाको सतहमा पाइला टेक्ने मात्र होइन, त्यहाँको माटो र ढुङ्गासम्म पृथ्वीमा ल्याइएको छ। अनि सोच्नुपर्ने कुरा, भगवान् शिवका आँखामा (चन्द्रमा) मानिसहरू, जसले गाई वा सुँगुरको मासु खाने गरेका छन्, कसरी पाइला टेक्न सक्दछन् ? के यस्तो कार्यले शिवको “दिव्य दृष्टि” अपमानित हुँदैन? विज्ञानले दिनप्रतिदिन गरिरहेको प्रगतिका तथ्यहरू अकाट्य छन्। त्यस्ता प्रमाणहरूलाई नजरअन्दाज गर्दै केवल पौराणिक कथाहरूको पछाडि अन्धाधुन्ध दौडिनु कति विवेकसम्मत हो ?
हामी किन प्रश्न गर्न डराउँछौं? हामीले कहिले विज्ञानको आलोचनात्मक चेतना आत्मसात् गर्ने? हामीलाई विश्वास छ, संस्कार र श्रद्धाभित्र पनि तर्क र विवेकको स्थान हुनुपर्छ। किनभने ज्ञान बिना श्रद्धा अन्धविश्वास हो, र श्रद्धा बिना ज्ञान शुष्क हुन्छ।
दोहोरो मापदण्ड:
म अर्थशास्त्रको विद्यार्थी हुँ। यो विषयले मलाई वस्तु, सेवा र श्रमको उत्पादन, वितरण र प्रयोगसँग सम्बन्धित प्रश्नहरूलाई तर्कपूर्वक हेर्ने दृष्टिकोण प्रदान गरेको छ। जब म धार्मिक क्रियाकलापहरूमा गरिने खर्चहरू विश्लेषण गर्छु, तब दोहोरो मापदण्डको उपस्थितिले गहिरो प्रश्न उठाउँछ, के यस्ता गतिविधिहरू आवश्यक छन्? वा केवल आस्थाका नाममा दोहन हुन्? शास्त्रीय मान्यताहरूका अनुसार भगवान् शिवलाई विभिन्न तरल पदार्थहरूसँग गरिएको अभिषेकबाट विभिन्न लाभ प्राप्त हुन्छ भन्ने विश्वास छ। उदाहरण- शुद्ध जलले अभिषेक गर्दा वर्षा हुन्छ, कुशको जलले रोग नाश हुन्छ, दहीले पशु लाभ, उखुको रसले लक्ष्मी प्राप्ति, मह र घिउले धन लाभ, तीर्थको जलले मोक्ष प्राप्ति, दूधले पुत्र लाभ र तोरीको तेलले शत्रु नाश हुने भनिन्छ।
यदी यी मान्यताहरू यथार्थमै क्रियाशील छन् भने, हामीले चिकित्सक उत्पादन गर्नुको सट्टा, कुश खेती गर्नुपर्थ्यो। अस्पतालको सट्टा मठ–मन्दिर बनाउनेतर्फ लाग्नु पर्ने हो। पशु लाभको लागि पशुपालन होइन, दहीले अभिषेक गर्नु पर्याप्त हुन्थ्यो। संतान प्राप्तिका लागि अस्पताल होइन, दुग्ध–अभिषेक मात्र आवश्यक हुन्थ्यो। यदि शुद्ध जलको अभिषेकले वर्षा हुन्छ भने, मौसम विभागको खर्च कटौती गरेर त्यहाँका कर्मचारीलाई मन्दिरमा सरुवा गरिनुपर्छ।
के यस्ता कुरा व्यवहारिक छन्? यदि ती अभिषेकबाटै यस्ता फल पाइन्छ भने, जीवनभर शिव अभिषेक गरिरहेका पूजारी वा मठाधीशहरू रोगमुक्त हुने पर्ने हो। तर, रोग लागेपछि उनीहरू अस्पताल जान्छन्, औषधि खान्छन्। किन अभिषेकले निको पार्दैन? यहाँ एउटा स्पष्ट दोहोरो मापदण्ड छ, कथन र व्यवहारबीचको गहिरो अन्तर।
हामी स्वर्ग वा नर्क देखेका छैनौं, तर आफ्नो वरिपरिको दोहोरो चरित्र र व्यवहार भने स्पष्ट देखिरहेका छौं। विज्ञान कमजोर हुँदा, चेतनाको स्तर संकुचित हुँदा- जिव, पृथ्वी, सौर्यमण्डल लगायतका रहस्यहरू बुझिनसक्ने हुँदा, अदृश्य शक्तिलाई सत्य मानिन्थ्यो। तर आजको युगमा, विज्ञानले अनेक रहस्यहरूको पर्दाफास गरिसकेको छ। तथापि, हामी अझै पनि प्रमाणित सत्यलाई अस्वीकार गर्दै, उपभोक्तावादको जालोमा फसेर, बजारको अबुझ ग्राहक बनिरहेका छौं। प्रश्न उठ्छ—हामी कहिले विवेकशील उपभोक्ता बन्ने? कहिले हामी आफ्नै आँखा खोल्ने ? कहिले सम्म धार्मिक श्रद्धाको नाममा हाम्रो चेतनाको श्राद्द गर्ने ?
वि.सं.२०८२ साउन ५ सोमवार १६:१३ मा प्रकाशित






























