back
CTIZAN AD

धादिङ-मलेखु सडकः दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन

वि.सं.२०८२ भदौ १७ मंगलवार

1.2K 

shares

मलेखु । धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

विसं २०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आएका स्थानीयवासी भरत ढुङ्गाना भन्छन्, “पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिराले धकेल्ने क्रम झन् बढेको छ ।”

सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ–८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिराले क्षति पुर्यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताए ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नुपर्ने बाध्यता छ ।

अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ । चालक डम्बरबहादुर श्रेष्ठले भने, “पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ्ग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचुम्ला भन्ने आश छैन ।”

पहिरोको लम्बाइ करिब एक सय मिटरमात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ । सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन ।

जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलोपटक यस वर्ष केही भागमा ग्यावियन जाली लगाइयो । त्यो ग्यावियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काममात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताएका थिए । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ वैकल्पिक बाटो

वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्कन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कने बाटो पनि छ ।

वि.सं.२०८२ भदौ १७ मंगलवार १०:२० मा प्रकाशित

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दरौँदी नदीमा मलामी बेपत्ता

दरौँदी नदीमा मलामी बेपत्ता

गोरखा । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...