यतिबेला देश ठूलो पीडामा छ । सडकमा चाडपर्वको स्वागतमा मंगल धुन बजिरहेका बेला । काठमाडौंका गल्लीमा इन्द्रजात्राको रथ तान्ने रौनक बढीरहेका बेला । मंगलबार बिहाँनदेखि सडकमा, घरमा अनि सम्पूर्ण देश विदेशमा रहेका नेपालको मनमा शोकधुन बजिरहेका छन् । प्रत्येक नेपालीको आँखा रसाएका छन् । किनकी सत्ताको उन्मादमा सरकारले कलिला नाति पुस्ताका युवाहरुमाथि हाँडीमा मकै पड्काएजस्तै गरी जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुको घर अगाडि उनैका नाति पुस्ता भटटट् गोलीले भुटिएका छन् । १० वर्षे जनयुद्धको झल्को मेटाउने गरी राजधानीमात्र नभएर पोखरा, बुटवल, इटहरीलगायतका ठाउँमा कलिलायुवाहरुमाथि गोली वर्षाइएको छ । उनीहरुको टाउकोमा ताकेर गोली हानिएको छ । छातिमा तत्कालिन राणा शासनको झल्को मेटाउने गरी सुरक्षाकर्मीको बुट बजारिएको छ । तालिममा अन्धाधुन्ध बन्दुक पड्काएर रिहर्सल गरिएजस्तै युवाहरुलाई ताकि ताकि गोली हानिएको छ । उनीहरुको शिर क्षतविक्षत बनाइएको छ । शरिरमा कयौ गोली हानिएको छ । यतिबेला राजधानीका सबै अस्पतालमा युद्धका बेला विभिन्न ठाउँमा घाइते भएकाहरुको उपचार गरेजस्तै गरी डाक्टरहरु रातभरी उपचारमा संलग्न छन् । उनीहरुले भनेका छन्‘ सोमबारको घटनाले युद्धको झल्को दियो ।’
भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक संजाललाई दर्ता हुनका लागि आव्हान गर्ने भनेर गरेको निर्णय र भदौ १२ गते दर्ता नभएका सामाजिक संजाल बन्द गर्नु भनेर दुरसञ्चारलाई लेखेको पत्र र त्यसपछि बन्द गरिएका सामाजिक संजालकै कारण जेनजी पुस्ता सडकमा उत्रिएको भन्ने कुरा संयोग मात्र हुनसक्छ । राज्यको सत्तामा बसेर आफुमात्रै होइन आफ्ना सन्तानको पुस्तौँपुस्ताका लागि धनसम्पत्तीको सुख सञ्चय गरिरहेका केही शाषकहरुलाई लाग्यो, १९ जनाको ज्यान जाने गरी र सयौं घाइते हुने गरी भएको प्रदर्शन केवल सामाजिक संजालका लागि हो । त्यसैले त एकसातादेखि भ्रष्टाचार, नेपो बेबीको विरोधमा जेनजी युवाहरुले संचालनमा रहेका केही सामाजिक संजाल र बाटोका भित्ता घरका भित्ता, त्यतिमात्र कहाँँँ हो र देशदेखि विदेशमा रहेका तमााम युवाहरुको मनको भित्तामा टाँसिरहेको पोस्टरले बोलेको गम्भीर सन्देशलाई सत्ताधारीहरुले खिसी ट्युरी गरेर उडाइदियो । तिनकुनेमा राजावादीको आन्दोलनका नाममा भएको गम्भीर दुर्घटनालाई पाठ बनाएर आगामी दिनमा यस्ता घटना घट्न नदिन सावधानी अपाउनुपर्ने गम्भीर कुरालाई ख्याल ठट्टामा उडाइयो । जेनजीको प्रदर्शनको आव्हानलाई रानजनीतिक दलका भरौटे र आसो पासेहरु अनि उनीहरुले पालेका र उनीहरुले दिएको रोटीमा पालिएको सम्झेर ख्याल ठट्टामा उडाइयो । शाषकको कमजोर र साँघुरिएको मानसिकताले युवाहरुको आक्रोशलाई कम आक्यो । प्रदर्शनले निम्त्याउने अप्रिय घटना र त्यसलाई रोक्नका लागि स्टेप बाइ स्टेप रणनीति बनाउनु त परै जावोस् खोपीमा बसेर अख्तियारीको दुरुपयोग गर्दै कलिला युवाहरु जो कलम कापी झोलामा बोकेर आफ्नो उज्ज्वल भविष्य माग्न र अधिकार खोज्न गएका थिए उनीहरु शाषकलाइ जे पनि हुनसक्छ भनेर अर्लट गराउन गएका थिए तिनैमाथि राज्यसत्ताले बर्बर दमन मात्र गरेर १९ जनाको ज्यानै समेत लियो ।
देशभरीका लाखौँ युवा जो श्रम गरेर बाँच्न योग्य छन्, जसलाई आफ्नो देशको ओरालो लाग्दो अवस्थाको चिन्ता मात्र नभएर नेताहरुको तडक–भडकको जीवनशैलीको लेखाजोखा राखिरहेको छ । खान नपाएर आफ्ना छोराछोरी कम्मरमा बाँधेर नदीमा हाम फालेको, ऋण तिर्न नसकेर आत्महत्या गरेको, हातमा मास्टर्स डिग्रीको सटिफिकेट लिएर काठमाडौंका गल्लिमा भौतारिएको, देशमा जीवन निर्वाह हुने अवस्था नदेखेर दलालाई करोड सम्म बुझाएर तल्लो बाटो हुँदै अमेरिका र युरोपका देशमा पुगेर डिपोर्ट भएर देश फर्किनु परेको, ‘दुर्गममा सधै पिछडीको जीवन भयो छोराछोरीले यस्तो जीवन भोग्नु नपरोस्’ भनेर रोजगारी शिक्षा लगायतका विभिन्न क्षेत्रका लागि काठमाडौं पठाएका छोराछोरीहरुको दैनिकी, शासन सत्ता हातमा लिएर ललिता निवास काण्ड, बासबारी काण्ड, भिजिट भिषा काण्ड लगायतका थुप्रै काण्डै काण्ड घटाएर सत्तामै आफ्नै पार्टीका साथीहरुबाट समेत घृणा उत्पन्न हुने कार्य गरेका, कृषिमा, खानेपानीमा, युवालाई उद्यमशील बनाउन आएका अनुदान, राज्यको ढुकुटीबाट जनताको जीविकोपार्जन सहज बनाउनका लागि ल्याइएका विभिन्न कार्यक्रमहरु आफ्नो खल्तीमा राखेर आफु र आफ्नालाई पोस्ने, समाजिक सन्जालमा अभिव्यक्त विचारहरुकै कारण नागरिकलाई जेलको चिसो छिडीमा पुर्याउने नेता, शाषक र प्रशासकबाट यी युवाहरु अनभिज्ञ छन् भनेर सत्ताको बागडोर सम्हाल्नेहरुले सोच्नु नै हिँजोको घटनाको परिणाम हो भन्दा फरक नपर्ला ।
यी तमाम समस्याहरु भोगेर पनि बाँँच्नुपर्छ र देशमा शुसासन र अमन चयन हुनुपर्छ, राष्ट्रको स्वमभिमान कसैको हातमाा बेचिनु हुँदैन, दुईचार नेताको स्वार्थमा देश विदेशीको नाँगो नाँच नाच्ने अखडा बन्नु हुँदैन अनि बनाउनदिनु हुँदैन भन्ने पूर्ण ज्ञान अहिलेको जेनजी युवामा छ त्यसलाई राज्य संचालकहरुले कम आंकलन गरिनु हुँदैन ।
सबैकुरा खेलाँची हुँदैननन् आफ्ना जनताको दैनिकी गुजारा कसरी भएको छ भनेर शाषकले ख्याल गर्नैपर्छ । सबैकुरा हाँसो र टुक्का हुँदैनन्, केही कुरा गम्भीर भएर पनि सोँच्नुपर्छ । आफुले नजाने विज्ञहरुको छलफल लिनुपर्छ । राजनीतिक प्रतिशोध हेरेर मात्र हुँदैन । सामाजिक संजाल एउटा निहुँ मात्र हो । एकसाता सामाजिक संजाल नचल्दा पनि आफ्नो देशको स्वाभिमान ठानेर कुनैपनि विदेशी कम्पनीले कुनै पनि राष्ट्रको स्वाभिमानको सम्मान गर्नुपर्छ भन्ने युवाहरुले नबुझेको होइन । यो सबै तलदेखि माथिसम्मका नेताहरुको दैनिकी तडक–भडक र जनताको जनजीवीकामा ध्यान नदिएको परिणाम हो । तर्सथ सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमा १९ जनाको ज्यानै जारी गरी राज्यले गरेको बर्बर दमनका कारण मंगलबारदेखि झन ठूलो रुप लिइरहेको छ । तर्सथ यसले ल्याउने अप्रिय परिणामा राज्य प्रशासन चनाखो बनेर होसपूर्णरुपमा तयारी गरोेस् अब अरु आमाहरुको कोख नरित्तिवोस् भन्नका लागि संयम अपनाइयोस् ।
प्रिय, जेनजी, हामीले १९ जना जेनजी युवाहरु गुमाइसक्यौं कतिले अस्पतालमा जीवन र मृत्युको लडाँइ लड्दै हुनुहुन्छ । कोख रित्ताएका हामीजस्ता धेरै आमाहरुको आँखा अझै रसाइरहेका छन् । सुन्दर सभ्य, र स्थिर नेपाल बनाउने जिम्मा अब तपाइहरुकै हो, तर्सथ अब अन्य जेनजीले ज्यान गमाउनु नपर्ने गरी आफ्ना कार्यक्रमहरुलाई संयम बनाएर लैजानुहोस् । यतिबेला आफ्नो सम्पत्तीको रक्षा गर्ने जिम्मा पनि तपाईँ हामै्र हो । दशवर्षे जनयुद्धले लोकतान्त्रिक गणतन्त्रमय देश भएपनि यसका कमी कमजोरी सुधार्दै तपाई हामीले विश्वमै उदाहरणीय देश बनाउन बाँकी नै छ । तर्सथ संयम बनेर प्रदर्शनका कार्यक्रमहरु अगाडि बढाउनु उचित हुन्छ । यतिबेला देशप्रतिको माया र देशको स्वतन्त्रता अखण्डताको रक्षा गर्ने जिम्मा पनि तपाइ हाम्रै हो ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १३:३२ मा प्रकाशित































