back
CTIZAN AD

एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

वि.सं.२०८२ भदौ २९ आइतवार

705 

shares

गण्डकी । पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एक÷एक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ ।

पोखरास्थित हिमालय आँखा अस्पतालमा सूचना अधिकारी कुमार गर्बुजाका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका दुई, कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक÷एक र लमजुङका एक गरी हालसम्म पाँच जना बिरामी अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् । दुई जना निको भएर घर फर्केका जनाउँदै उनले तीन जना उपचारकै क्रममा रहेका बताए ।

आगामी कात्तिक÷मङ्सिरसम्म डेङ्गी र सापुको सङ्क्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । दुवै रोगको सङ्क्रमण वर्षायामपछि बढी देखिने गरेको छ ।

हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा बबिता गुरुङले सेतो पुतलीको संसर्गबाट लाग्ने सापुका कारण आँखाको दृष्टि गुम्नसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । “यो रोग लागेको ४८ घण्टादेखि ७२ घण्टासम्म उपचार नभएमा आँखाको दृष्टि नै गुम्न सक्छ”, उनले भने ।

अस्पताल भर्ना भएकामध्ये आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको डा गुरुङले जानकारी दिए । उनका अनुसार हालसम्म सापू रोग लाग्नुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि यसको सङ्क्रमण हुने गरेको पाइएको उनकोे भनाइ छ ।

अस्पतालले सापुबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्यालो सेता बत्ती नबाल्न, साँझ र रातिमा घरको झ्यालढोका बन्द गर्न, बत्ती निभाएर झुलभित्र मात्र सुत्न, साँझपख बालबालिकालाई घर बाहिर जान नदिन सर्वसाधारणमा आग्रह गरेको छ ।

सापुको सङ्क्रमण भएमा एक्कासी एउटा आँखा मात्र रातो हुनु, चिप्रा लाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखामा सामान्य दुखाइ हुनु, आँखाको नानी सेतो हुँदै जानु, दृष्टि कमजोर हुनुलगायत लक्षण देखिने डा गुरुङले बताए । “समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ, शङ्कास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गई जाँच र उपचार सुरु गर्नुपर्छ”, उनले भने, “उपचार ढिलो भएमा दृष्टि गुम्ने, आँखा सुक्ने खतरा हुन्छ ।”

असोजदेखि मङ्सिरसम्म सापूको सङ्क्रमण बढी देखिने गरेको डा गुरुङले जानकारी दिए । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापु रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । नेपालको मध्यपहाडी क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको छ । “दुई वर्षको अन्तरमा यो रोगको सङ्क्रमण देखिन्छ, सन् २०२३ पछि अहिले आएर बिरामी भेटिएका हुन”, डा गुरुङले भने, “सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।”

सापू लाग्नुको यकीन कारण अझै पत्ता नलागेको उल्लेख गर्दै उनले बिरामीको रगतबाट वंशाणुगत अध्ययन गर्ने तयारी भइरहेको जानकारी दिऐ । अहिलेसम्मको अध्ययनले बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको रौँ र झुस आँखामा पुग्दा सापुको सङ्क्रमण हुने गरेको पत्ता लगेको उनको भनाइ छ । जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको उनले बताए ।

सापूको सङ्क्रमण समुदायमा फैलन नदिन स्वास्थ्यमा सजगता अपनाउनुपर्नेमा डा गुरुङले जोड दिए । सापुका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क भइरहेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय सापुसँगै डेङ्गीको सङ्क्रमणको पनि उच्च जोखिम रहेको धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहले बताए । वर्षा रोकिएपछि घमाइला दिनमा यी रोगको सङ्क्रमण छिटो फैलने हुनाले सर्तकता अपनाउनुपर्नेमा उनले जोड दिए । लामखुट्टको टोकाइबाट बच्नु डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनकोे भनाइ छ ।

डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थान भेटिएमा नष्ट गर्नुपर्ने चिकित्सक सिंहले सुझाव दिए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान लाग्नेलगायत लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनले बताए ।

अधिकांश डेङ्गीका बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरे पनि कतिपयमा भने यसले जटिलता ल्याउने गरेको चिकित्सक सिंहले उल्लेख गरे । डेङ्गीबाट ज्यान जोखिममासमेत पर्नसक्ने भएकाले सामान्य रोग हो भन्ने लापरबाही नर्गन उनले सर्वसाधारणलाई आग्रह गरे ।

डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । डेङ्गी सङ्क्रमणका बेला आफूखुसी औषधि सेवन गर्न नहुने उनको भनाइ छ ।

जनस्वास्थ्य निरीक्षक रेग्मीका अनुसार ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्दछ । “चार प्रकारका भाइरसबाट मानिसमा डेङ्गी हुन्छ । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्दछ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने हुँदा दिउँसोको समयमा बढी सावधानी अपनाउनुपर्छ”, उनले भने ।

गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमण दर कम देखिएपनि जोखिम भने अझै कायम रहेको जनस्वास्थ्य निरीक्षक रेगमीले बताए । पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...