
राम शरण न्यौपाने, भक्तपुर
पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल छाई
आफ्नो माटो मनुजसितको प्रेमलाई गुमाई
सोसी खाने प्रचलन बढी चेतनाले सुलेको
यात्री जस्तो मनुज छ यहाँ मूलबाटो भुलेको।।१
बाँच्ने बानी अधिक छ यहाँ भोगमा नै रमाई
चोखो मीठो सब कन भयो पापको नै कमाई
पैसामा नै मन छ सबको पोखिएको घुलेको
यात्री जस्तो मनुज छ यहाँ मूलबाटो भुलेको।।२
ओल्छाएझैँ हिमशिखर नै चुम्नलाई डराई
खुट्टा कामी कन बहुत नै त्रासले थर्थराई
फेदीमा नै अलमल गरी मात खाई झुलेको
यात्री जस्तो मनुज छ यहाँ मूलबाटो भुलेको।।३
खेतीपाती पनि सकल नै देख्छु बाँझो परेको
छोडी सारा घर जमिन नै राजधानी सरेको
बच्चो कच्चो मन छ बहुतै व्यर्थ दाह्रीफुलेको
यात्री जस्तो मनुज छ यहाँ मूलबाटो भुलेको।।४
आफ्नो सिङ्गोमुलुक जसले छैन खोजीगरेको
रोजी ठूलो पद र सुविधा मात्र गोजी भरेको
लोभी माखो फगत गुलियो चासनीमा झुलेको
यात्री जस्तो मनुज छ यहाँ मूलबाटो भुलेको।।५
छन्द : मन्दाक्रान्ता
गण : म भ न त त गु गु
सङ्केत : SSS – SII – III – SSI – SSI – S – S
वि.सं.२०८२ असोज १८ शनिवार १०:१८ मा प्रकाशित