मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायका सिलसिलामा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ। घुमफिर र मनोरञ्जनको समय मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ। सोखले खर्च बढाउन सक्छ। साथीभाइको सहयोगमा अड्किएका काम बन्नेछन्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भौतिक साधन जुट्नाले काम बन्नेछन्। साहसी कार्य गरेर फाइदा उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्न सक्छन्। विश्वास नलाग्ने काम पनि बन्ने सम्भावना छ। चुनौती चिर्दै फाइदा लिन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा सफलता पाइनेछ। प्रतिष्ठित कामको शुभारम्भ हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको प्रयोगले लक्ष्य हासिल हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर मिल्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारका सदस्यलाई समय दिनुपर्ला। कृषि, पशुपालन र घरेलु काममा व्यस्त रहनुपर्नेछ। फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुराना सम्झौता नवीकरण नगर्दा लाभांश गुम्ने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुने सम्भावना छ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। प्रतिद्वन्द्वीलाई सजिलै परास्त गर्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा प्रतिष्ठा बढाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुखद समाचारले उत्साह बढाउनेछ। बोलीको प्रभाव बढ्नेछ र चिताएका कामहरू पूरा हुनेछन्। आफ्नै क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता हुने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिनेछन्। अध्ययनमा लगाव बढ्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामना पूरा हुनेछ र रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ। आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। लक्ष्यअनुसार समयमै काम पूरा हुनेछ। अध्ययनको लगाव बढ्नेछ र बौद्धिक क्षेत्र विस्तार हुनेछ। पहिलेको सफलताले हौसला दिनेछ। व्यापारमा पनि लाभदायक समय छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्चिलो काम थाल्दा धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा भए पनि अरूसँग बाँड्नुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको योग छ। आफ्ना कामको श्रेय अरूले लिन खोज्ने सम्भावना छ। छिमेकमा असमझदारी बढ्न सक्छ, होसियारी अपनाउनुहोस्। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढ्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आयस्रोत राम्रो हुनेछ र आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा उन्नति हुनेछ। रोकिएका काम बन्नेछन् भने जिम्मेवारी बढ्नेछ। खोजी गर्दा नयाँ अवसरहरू फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार सफलता हात लाग्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी वा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध बढ्नेछ। सामाजिक प्रभाव बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर खोज्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत बढ्नेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन हुनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदाजनक काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता बढाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम रोकिनाले परिस्थिति असहज बन्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ, आहार–विहारमा ध्यान दिनुहोस्। व्यस्तता बढ्नेछ र शारीरिक कमजोरी महसुस हुन सक्छ। व्यावहारिक समस्याले काममा ढिलाइ हुन सक्छ। अरूका लागि धेरै मिहिनेत गर्नुपर्ला। आफ्ना गोप्य कुरा सुरक्षित राख्नु उपयुक्त हुनेछ।
२०८२ कार्तिक ५ गते, बुधवार
कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १८ः२० पछि द्वितीया
स्वाती नक्षत्र, चन्द्रराशि तुला
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वि.सं.२०८२ कात्तिक ५ बुधवार ०७:१७ मा प्रकाशित






























