back
CTIZAN AD

कविता : माटाको आग्रह

वि.सं.२०८२ कात्तिक २२ शनिवार

390 

shares

हृषीकेश बराल,पोखरा –२६ कास्की

मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार मेरो सुन
दिन्थेँ धान मकै र जौ गहुँ उवा पर्याप्त उत्पादन ।
रोप्थ्यौ प्याज मुला मस्याङ मुसुरो तोरी र कोदो पनि
छ्यापी साग पिँडालु आलु धनिया लौका करेलो पनि ।।१

उब्जिन्थे फलफूल मौलिक सबै सब्जी फलाएँ कति
खाई शेष रहे लगी शहरमा बेची कमायौ अति ।
फुर्ती देह थियो परिश्रम हुँदा सारा निरोगी थियौ
खेती गर्न भुल्यौ बस्यौ शहरमा रोगी बनी देखियौ ।।२

सिञ्च्यौ स्वेद ममा असाध्य उहिले मायाँ मलाई ग¥यौ
रोप्ता मानुमुठी दिएँ कति मुरी भण्डार तिम्रै भ¥यौ ।
मौरीपालन मत्स्यपालनसँगै पाल्थ्यौ चरा च्याखुरा
खान्थ्यौ दूध दही मही घिउ खुवा भैंसीहरूको पुरा ।।३

पानी शीतल मूलको कति पियौ दिन्थेँ रसाईकन
हावा स्वच्छ लियौ प्रदूषणबिना आरोग्य हुन्थ्यो तन ।
दिन्थेँ जङ्गलमा वनस्पतिहरू पाखा पखेराभरी
खोज्थ्यौ दिव्य जडीबुटी मसित नै रोगी भएका घडी ।।४

खान्थ्यौ मौलिक खाद्य वस्तु उहिले सम्पूर्ण ताजा थिए
जे खाए पनि ओखती सरहका सर्लक्क मैले दिएँ ।
बारी खेत हराभरा सब थिए राख्थ्यौ घरैको मल
उम्रिन्थे विरुवा जहाँ पनि सदा फल्थे हजारौँ फल ।।५

खान्थ्यौ भोजन शुद्ध सन्तुलित नै जान्दै नजानीकन
गथ्र्यौ काम थकाइ मार्न नबसी फुर्ती बढाईकन ।
शाकाहार हुँदा निरामय थियो पथ्र्यौ कहाँ ओखती
मांसाहार गरेर रुग्ण अब छौ बिस्र्यौ भएको क्षति ।।६

के जान्छौ परदेशमा अब युवा चाहिन्न विप्रेषण
अर्काको घरको कमाइ नटिकी सिद्धिन्छ यो तत्क्षण ।
त्याग्नैपर्दछ शीघ्र जान परको ती राहदानी अब
आफ्नै देश बसेर मेहनतले उद्योग खोल्नू सब ।।७

मोती फल्छ यहीँ फलाउन सके चाँदी र हीरा सुन
राख्नू लक्ष्य उँचो पुगी सगरमा नक्षत्र तारा छुन ।
बन्नू जाँगरिलो स्वदेश घरमैँ गर्नू यहीँ आर्जन
गर्नू आर्थिक वृद्धि भर्न ढुकुटी भन्दै छ मेरो मन ।।८

जम्मै आज भुली झ¥यौ शहरमा बस्छौ बिना कामले
खान्छौ भोजन नक्कली सब कुरा ल्याई किनी दामले ।
जन्मेको स्थल फर्क उर्वर जिमी कुर्दै बसेकी छु म
गाई पाल कि हाँस या त कुखुरा गर्दै छु बिन्ती गम ।।९

मेरो रूप बदल्नुपर्दछ छिटो जोत्ने र खन्ने गरी
मैले भर्छु अनाजले घरहरू किन्नै नपर्ने गरी ।
बारी खेत नराख बन्जर कुनै बाली लगाऊ बसी
बन्दा गाजर काउली सुप भिँडी रोप्नू सिमीमा मिसी ।।१०

वृक्षरोपण गर्नुपर्दछ ममा पैह्रो नजाओस् भनी
भैंसी पाल पहाडका हर कुना भेडा र बाख्रा पनि ।
बाली लाउनमा नयाँ प्रविधि छन् खोजेर ल्याऊ सब
धेरै अन्न फलाउँदै बन धनी निर्यात गर्नू अब ।।११

छन्द : शार्दूलविक्रीडित
गण :म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ कात्तिक २२ शनिवार १०:५६ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...