एकै किसिमको स्वाद, गन्ध र स्वरूप भएका मुलामा तात्विक भिन्नता खोज्नु भनेको बकैनाको रुखमा बोधिसत्व खोज्ने प्रयास सरह हो। एउटै बारीमा, एउटै माटो, एउटै प्रकारको मल-मुत्र र एउटै हावापानीमा उमारिएका मुला प्रायः उस्तै-उस्तै हुने गर्छन्- स्वादमा पनि, रूपमा पनि, गन्धमा पनि। ती सबै एउटै ड्याङ्गका मुला हुन्।
राजनीतिमा पनि उस्तै ढर्रा, सोच, स्वभाव र व्यवहार भएका नेताहरू यही ड्याङ्गका राजनीतिक उत्पादन हुन्। जसको आफ्नै मौलिकता छैन; जसले अरूको नक्कल गरेर नारा चिल्ल्याउँछ; जसले जनतालाई होइन, आफन्त र कार्यकर्तालाई ‘काखी च्याप्ने नीति’ बनाउँछ- ती सबै राजनीतिक बारीका एउटै ड्याङ्गका मुला हुन्।
नेपालको राजनीति साढे तीन दशकदेखि यिनै ड्याङ्गका मुलाले भरिएको छ। हरेक निर्वाचनपछि जनता नयाँ स्वादको अपेक्षा गर्छन्, तर थालमा आउने परिकार हरेकपटक उस्तै रहन्छ- बाको “भष्ट्रतन्त्र”, दाईको “लुटतन्त्र” र काकाको “झुटतन्त्र” मिसिएको त्यही पुरानो मुला! यस्ता तन्त्र का हिसाब गर्ने हो भने मुलाको परिकारभन्दा तन्त्र का विधिहरू धेरै छन्—छद्मतन्त्र, सत्तातन्त्र, पाखण्डतन्त्र, गुटतन्त्र, कोटतन्त्र, नोटतन्त्र, भयतन्त्र, दलालतन्त्र आदि-इत्यादि। त्यसो हो भने के फरक केवल प्याकेजिङमा मात्र हो ?
छ्याङ्गै भन्नुपर्दा, हाम्रा तीन दलका मुखियाहरू- ओली, देउवा र प्रचण्ड के नेपालका राजनीतिका एउटै ड्याङ्गका मुला हुन् ? स्वाद उस्तै, ब्रान्ड–नेम मात्रै फरक हो? कि हरेकको ड्याङ्ग अलग–अलग छ, तर माटो एउटै हो ? ड्याङ्गसँगै रहेका ‘ग्याङ्ग’ पनि उस्तै–उस्तै छन् कि फरक पहिरन लगाएका उही चरित्रका पात्रहरू? बारीमा पुराना बनमारा र केही नयाँ बिरुवाहरू पनि छन्। नयाँ बिरुवाहरू हुर्किँदै जाँदा किसानमैत्री हुन्छन् वा हुँदैनन्- थाहा हुनेछ। तर बनमारासँग मुलाको दोस्ती छ, खासगरी बिउ लगाउने र भित्याउने बेलामा।
अब मूल प्रश्नतिर लागौँ- के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन्? मेरो स्पष्ट उत्तर हो- होइन। यी तीनैले फरक–फरक ड्याङ्गका मुला हुन्। देउवा मलिलो र सुरक्षित खेतमा हुर्केका मुला हुन् । मौसम अनुकूल भएको र मल-पानी पुगेको खेतका। ओली चाहिँ टारी-खेतका मुला हुन्। सुक्खा, घामले पोलिएको, आफ्नैबाट हेपिएको, तर महत्वाकांक्षा र कुण्ठा लिएर बाँच्च्न सिकेको। प्रचण्ड भने रुखो बारीमा आफ्नै पातहरुको मल बनाएर हुर्केका मुला हुन् । कहिले जोतिएका, कहिले कुल्चिएका, कहिले उखेलिएका, तर हार नमानेर बाचेका र हुर्केका।
तिनको पृष्ठभूमिअनुसार तिनको स्वभाव पनि स्पष्ट देखिन्छ- ओलीको रुखो बोली; प्रचण्डको संघर्षतिर झुकाव राख्ने ‘मलिलो खेततर्फको यात्रा’; र देउवाको शान्त, लचकदार स्वभाव । यी सबै तिनको माटो, पानी र समयको परिणाम हुन्। तिनको ‘लेबल’ पनि फरक छ। ओलीले “राष्ट्रवाद” लाई आफ्नो स्वाद बनाएका छन्; देउवाले “लोकतन्त्र” को लेबल टाँसेका छन्; प्रचण्डले “समाजवाद” को मसला मिसाएका छन्। त्यसैले एउटै ड्याङ्गका मुला होइनन्।
नेपालको राजनीतिमा योगदानको हिसाबले तुलना गर्ने हो भने प्रचण्ड गाजर हुन्। रंग देखाउँछन्, मिठास बोल्छन्, तर कहिलेकाहीँ भित्र आफैं कुहिएको देख्दैनन्। देउवा आलु हुन् । स्वाद कहिले काँचो, कहिले नुन नपरेको; तर हरेक परिकारमा चाहिने। ओली पिण्डालु हुन् । पकाउन समय लाग्छ; तर पकाएपछि कि फ्यात्त हुन्छन्, कि कोक्याउने।
स्वरूपका हिसाबले प्रचण्ड तरुलजस्तै छन- पकाएर वा उसिनेर खान मिल्ने। तिहुन पनि हुने, तरकारी पनि हुने। देउवा गोलभेडाजस्तै छन- हरेक शासन-तरकारीमा मिसिने, स्वाद फरक भए पनि उपस्थिति अनिवार्य रहने। ओली गान्टेमुला जस्तै छन – गहिरो माटोमा उम्रिने, उखेल्न गाह्रो, तर बाहिर निस्किँदा “म साँचो स्वाद हुँ” भन्ने आत्मविश्वासका साथ आउने। बाहिर मोटो र ठूलो देखिने, भित्र टुप्पो लिख्रिक्क।
आन्दोलन र जोखिमको दृष्टिले प्रचण्ड सतिसाल हुन। आँधी–बेहरी सहने, तर कहिलेकाहीँ आफ्नै भारीपनले ढल्ने। देउवा सल्ला हुन। हल्लिने, तर ढल्ने होइन-हरेक मौसमसँग तालमेल मिलाउने। ओली बकैना हुन। टाठा, कठोर, छेउका बिरुवालाई छायाँमा राख्ने प्रवृत्ति भएका। त्यसैले, राजनीतिक रूपमा तिनीहरू एउटै बारीका भए पनि, एउटै ड्याङ्गका मुला भने होइनन्।
संघर्षको माटोमा उम्रिएको बिरुवा र सत्ताको बारीमा हुर्किएको बिरुवाको गुणनै फरक हुन्छ। यही दृष्टिले हेर्दा, प्रचण्डको योगदानलाई ओली र देउवाको बराबरीमा राख्नु- ऐतिहासिक र वैचारिक दुवै दृष्टिले न्यायसंगत हुँदैन।
प्रचण्ड नेपालको आधुनिक राजनीतिक इतिहासमा सशस्त्र विद्रोहमार्फत वैकल्पिक राज्य-संरचना र सोच प्रस्तुत गर्ने पहिलो व्यक्ति हुन्। २०५२ सालमा सुरु भएको जनयुद्ध केवल बन्दुकको आवाज थिएन- त्यो राज्यसत्ता र वर्गीय असमानता विरुद्धको विद्रोह थियो। दश वर्ष लामो युद्धले हजारौँ जीवनको मूल्य चुकायो, तर देशले रूपान्तरण देख्यो। राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता। यी सबै परिवर्तनका केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए।
ओली र देउवा व्यवस्थाभित्रै हुर्केका नेता हुन्। एकले शब्दमा राष्ट्रवाद सुनाए, अर्काले सम्झौतामा लोकतन्त्र चलाए। तर दुवैले संरचना भत्काउने साहस देखाएनन्। प्रचण्डले संरचना भत्काए। तिनले त्यसलाई व्यवस्थामा मिलाउने काम गरे। दुवै भूमिका आवश्यक थिए। तर योगदानको गहिराइ तुलना गर्दा प्रचण्डको ऐतिहासिक महत्व धेरै गहिरो छ। ओली र देउवालाई अहिलेको व्यवस्थामा ल्याउने प्रचण्डै थिए।
लतार्ने र लतारिने एउटै श्रेणीका हुन सक्दैनन्। त्यसैले ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला होइनन्।
त्यो आन्दोलनले पुरानो सत्ता–संरचना भत्कायो र नयाँ राजनीतिक धारा खोल्यो। यस्तो संरचनात्मक रूपान्तरण न ओलीको पार्टीले गर्न सकेको थियो, न देउवाको नेतृत्वले कल्पना गर्न सकेको थियो। केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै व्यवस्थाभित्रै हुर्किएका नेताहरू हुन्। ओलीको राष्ट्रवाद–केन्द्रित भाषणशैलीले जनभावना ताताउँछ, तर त्यसको नतिजा प्रायः शब्दमै सीमित राष्ट्रवाद बनेर रहन्छ। देउवा त झन् लोकतन्त्रका संस्थागत ढाँचा भित्रका यथास्थिती र व्यवस्थाप्रेमी नेता हुन् । स्थायित्व र सम्झौतामा विश्वास गर्ने, तर परिवर्तनमा जोखिम नलिने।
यी दुवै नेताहरूले शासनको निरन्तरता सम्भव त बनाए, तर सामाजिक संरचनाको क्रान्ति ल्याउने आँट कहिल्यै देखाएनन्। तसर्थ, उनीहरू सत्ताका संरक्षक हुन्; प्रचण्ड भने संरचना भत्काउने र नयाँ बनाउने प्रयोगकर्ता। त्यसैले- ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला होइनन्।
यति भन्दैमा प्रचण्ड ‘देउताका गाई’ होइनन्। दलाल संसदीय व्यवस्थाको बारीमा उनी पनि पुराना मुलाको संगतले उस्तै-उस्तै बने। तर दुरुस्तै होईन। जनयुद्धको रापतापले सत्ता–राजनीतिमा चम्किएका प्रचण्ड, सत्तामा पुगेपछि शक्तिको भाका टिपे। सामन्तवादको विरोध गर्दागर्दै आफैं रूपान्तरित भए र अहिले उस्तै ड्याङ्गका जस्ता देखिन्छन्। तर पनि, भष्ट्रतन्त्र, लुटतन्त्र र झुटतन्त्र–यी तीनको गुणात्मक भिन्नता छ। त्यसैले- ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला होइनन्।
वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:१० मा प्रकाशित




























