नारायण खनाल निलम
मालारानी , अर्घाखाँची
भो नफुट
फुटेपछि जोडिँदैन सिसा
जोडिँदैनन्
फुटेपछि ग्रह –उपग्रहहरू
कहिल्यै सूर्यसँग !
मन फुटेपछि
मासु लुछ्दा आधा बाङ्गिएको
सिंहको दाह्रा भन्दा
झन् खतरनाक हुन्छ !
गालेर रसाउन पनि
धातुलाई रसायन चाहिन्छ
माहुरी कै भएर पनि के गर्नु
काठको घार कहाँ रसाउँछ र
धातु जोड्ने रसायनले ।
सिद्धान्तको
धरो समाएर
लाज ढाक्न छोडेको
धेरै भयो तिमीहरूले
के फुट्छौ ?
निकम्मा पदको आँखीझ्याले पछ्यौरीले
लाज ढाकेको देखाउन ।
भो नफुट !
मक्किएका
खुट्टा भएको कुर्सीमा बसी
जनताका आँसु माथि
पाइताला टेक्न ?
मातृवात्सल्य
फुटेको भए पो
गौरव र आत्म सुखको विषय हुन्थ्यो
प्यास मेटाउन बचेराको
मूल
फुटेको भए पो पानीको
ऐठनबाट मुक्त हुन्थ्यो भविष्य ।
साँच्चै सान्दर्भिक हुन्थ्यो
बीउ
अंकुराउन फुटेको भए
चित्त बुझाउन सकिन्थ्यो
बतासे फुल
फुटेको भए कुखुरीको ।
बिना भुकम्प
बिना ज्वालामूखी
स्वार्थले फुट्ने
धरालाई त इतिहासले चिन्दैन भने
फगत
बग्न स्वार्थको रयनमा
भो नफुट ।
भो नफुट !
फोहोर नै देखिए पनि
आँखाको पो महत्त्व हुन्छ
जति सेता देखिए पनि
अन्ततः
“कचरा –कचरा नै हुन्छ “।
वि.सं.२०८२ माघ ३ शनिवार ०६:१० मा प्रकाशित




























