back
CTIZAN AD

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

वि.सं.२०८२ माघ १४ बुधवार

765 

shares

सुदूरपश्चिम । नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको बतए ।

“समग्र देशको सन्दर्भमा कुष्ठ रोग निवारण भइसकेको छ”, उनले भने, “सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा बिरामी आउँछन्, सोको करिब ६८ प्रतिशत कैलालीमा देखिएका छन् ।” रोगी पत्ता लाग्ने दर नघट्दा यसको निवारण चुनौतीपूर्ण बन्न थालेको उनकोे भनाइ छ ।

समग्र देशको तथ्याङ्क भने प्रतिदश हजार जनसङ्ख्यामा शून्य दशमलव आठदेखि शून्य दशमलव नौ जना रोगी फेला पर्ने गरेका क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिए । उनका अनुसार प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी फेला परेमा रोग निवारण भएको मानिने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ ।

नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश घोषाणा गरिएको थियो । लगातार पाँच वर्षसम्म स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकामा रोग नदेखिएको हुनपर्ने निवारणको अर्को मापदण्ड पछिल्ला वर्षमा बनाइएको ओझाले बताए । उनका अनुसार सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ ।

यसका लागि कुष्ठ रोगीको सक्रिय खोज पड्ताल, जनचेतनामूलक कार्यक्रम, बहुऔषधिको व्यवस्थापनलगायत गतिविधि भइरहेका उनले जानकारी दिए । “पत्ता लागेका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको छ । सुदूरपश्चिम प्रदेशको हकमा कैलाली, कञ्चनपुर र अछाम जिल्लालाई केन्द्रमा राखेर खोजपड्ताललगायत गतिविधि भइरहेका छन”, उनले भने ।

स्वास्थ्यकर्मीका अनुसार रोगको उपचारभन्दा सामाजिक दृष्टिकोण परिवर्तन गर्न ठूलो चुनौती देखिएको छ । कुष्ठरोग निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि बजेट अभाव देखाउँदै धेरै स्थानीय तहले यो विषयलाई प्राथमिकतामा राख्ने गरेको पाइँदैन ।

कुष्ठ रोगप्रति नकारात्मक सामाजिक दृष्टिकोण भएकाले कतिपय प्रभावित व्यक्ति रोग लुकाएर बस्ने गरेका स्वास्थ्यकर्मी बताउँछन् । यसले रोग पहिचानमा समस्या सिर्जना गर्नुका साथै रोग फैलिन सक्ने जोखिम बढाउने क्षयकुष्ठ अधिकृत ओझाले बताए ।

यसले बिरामीको उपचारमा ढिलाइ भएर अपाङ्गता हुने र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । “कुष्ठरोग सर्ने रोग भए पनि नियमित औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुन्छ । रोगीले लक्षण अनुसार बढीमा दुई वर्षसम्म नियमित औषधि खाएमा रोग निको हुन्छ”, उनले भने ।

प्रदेशका कैलाली र कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर बढी छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका केही जिल्लामा रोग पत्ता लाग्ने क्रम घट्दो रूपमा देखिए पनि तराईका मुख्य सहरी तथा अर्धसहरी क्षेत्र अझै जोखिममा छन् ।

प्रतिदश हजार जनसङ्ख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको दर (प्रिभेलेन्स) सबैभन्दा बढी कैलाली जिल्लामा एक दशमलव ५७ छ । कञ्चनपुरमा यो दर शून्य दशमलव ७५ छ भने अछाममा शून्य दशमलव ६९ रहेको छ । डोटीमा शून्य दशलव ३०, डडेलधुरामा शून्य दशमलव २९, दार्चुलामा शून्य दशमलव २३, बैतडीमा शून्य दशमलव ०८ र बझाङमा शून्य दशमलव ०४ देखिएको छ । बाजुरामा हाल उपचारमा रहेका कुष्ठरोगी शून्य देखाएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार तराईका जिल्लामा कुष्ठरोग बढी देखिनुका कारण बहुआयामिक छन् । जनघनत्व बढी हुनु, आन्तरिक तथा सीमापार आवतजावत, गरिबी, सरसफाइको कमी र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा लिइन्छ । खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रसँग निरन्तर सम्पर्क हुँदा सङ्क्रमण फैलिने जोखिम बढेको बताइन्छ ।

वि.सं.२०८२ माघ १४ बुधवार १५:४० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...