काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
दूतावासमा आयोजित कार्यक्रममा छलफल सत्र तथा बहुसांस्कृतिक सांगीतिक प्रस्तुति सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञ, सार्क सचिवालयका प्रतिनिधि, यूनेस्को, युनिसेफ लगायतका अन्तर्राष्ट्रिय संस्थाका अधिकारी, शिक्षाविद् तथा नेपालस्थित बङ्गलादेशी समुदायको सहभागिता रहेको थियो।
कार्यक्रममा बङ्गलादेशका राजदूत सलाहउद्दीन नोमान चौधरीले सन् १९५२ को भाषा आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मातृभाषाको संरक्षण र प्रवर्द्धनको आवश्यकता औंल्याए। उनले बहुभाषिक शिक्षाले समुदायलाई सशक्त बनाउने र दिगो विकासमा टेवा पुर्याउने बताए।
नेपालस्थित यूनेस्को प्रमुखले विशेष अतिथिका रूपमा मन्तव्य दिँदै मातृभाषामा आधारित शिक्षाको महत्व र भाषिक विविधताको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे। कार्यक्रममा विभिन्न देशका प्रमुखहरूले आफ्ना-आफ्ना मातृभाषामा सन्देश व्यक्त गरेका थिए।
कार्यक्रम अन्तर्गत नेपाली, नेवारी, तामाङ, बङ्गला, संस्कृतलगायत भाषामा सांगीतिक प्रस्तुति गरिएको थियो। अन्त्यमा बङ्गलादेशी परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो।
यसअघि बिहान शहीद मिनारमा ‘प्रभात फेरी’ तथा पुष्प अर्पण कार्यक्रम गरिएको थियो। कार्यक्रम विशेष प्रार्थनासहित सम्पन्न भएको जनाइएको छ।
वि.सं.२०८२ फागुन ११ सोमवार १४:४९ मा प्रकाशित






























