मुक्तक-१,
धेरै मान्छेहरू आफैभित्र जलेर बाँच्छन
जिन्दगीको ठूलो भिरबाट लडेर बाँच्छन
कहिले हुन्छ जित यहाँ अनि हार पनि
त्यही हारको चट्टानमा चढेर बाँच्छन
डा. हरि उप्रेती
ओहायो , अमेरिका
मुक्तक-२,
तिम्रो पद चाप सुनेर यो मन उतै छोडेर आए
उमङ्गको एक झुल्को मुस्कान पोखेर आए
जुदेका थिए परस्पर दुबैको नजर बिदाईमा१
सम्झनाको एउटा चिनो तस्विर बोकेर आए
नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका
मुक्तक-३,
शब्द बिना विद्रोह बोल्ने मौनताको चाप छ
तपस्याको सहनशीलता बिस्पोट हुने ताप छ
विश्वासको साँचो हातमा अत्यचारको पराकाष्ट
मनमानीको गोप्य राज्यमा ज्वालामुखी धराप छ
ओम घिमिरे
पेन्सलभेनिया, अमेरिका
मुक्तक-४,
संघर्षले जन्माई दियो, कोसिस गरौं बचाइ राख्न
निभाउन हजार आउँछन् कमै खोज्छन् बसाइ राख्न
त्रिबेणीलाई जतनसँग अघी बडाउँन उठौं हामी सबै
पानी भन्छ बल्नै नदिऊँ, हावा खोज्छ बगाइ राख्न
प्रेम घिमिरे
पेन्सल्भेनिया, अमेरिका
मुक्तक-५,
तिमी जस्तै मलाई पनि बैँस चढेको छ
थाम्नै नसक्ने गरि यौवन ममा बढेको छ
बिना खबर आउँला सानु तिम्लाई भेट्न
तिम्रो न्यानो स्पर्श यो मनमा गढेको छ
केशब बैरागी माइलो
पेन्सल्भेनिया, अमेरिका
मुक्तक-६,
छोरी बा-आमा सम्झिएर घर फर्कीन्छे
बुहारी घर जग्गा बेचेर शहर फर्कीन्छे
गाई बेचर शहरमा पढ्न पठाएकी नातीनी
काखमा कुकुर च्यापेर सरासर फर्कीन्छे
अभिनारायण
पेन्सलभेनिया अमेरिका
वि.सं.२०८२ चैत ५ बिहीवार १२:४१ मा प्रकाशित






























