काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोह राजनीतिक रूपमा निकै अर्थपूर्ण उपस्थितिसँग सम्पन्न भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चार जना पूर्वप्रधानमन्त्रीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
समारोहमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप राजनीतिक महत्त्व दिएको देखिएको छ।
त्यस्तै, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा उपस्थित रहे।
तर, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा अनुपस्थित रहे। अर्का पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा सहभागी हुन सकेनन्।
समारोहमा प्रमुख नेताहरूको आंशिक उपस्थिति र अनुपस्थितिले समकालीन राजनीतिक सन्दर्भमा विभिन्न अर्थ र संकेतहरू उत्पन्न गरेको छ।
वि.सं.२०८२ चैत १३ शुक्रवार १३:२० मा प्रकाशित






























