बेनी (म्याग्दी) । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा यसअघि ज्येष्ठ नागरिकले पुर्खौली नाच जोगाउँदै आउनुभएको थियो । पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका युवापुस्ता यसको संरक्षण र प्रवद्र्धनमा जुटेका छन् ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका १३ वर्षीय अमनपराइ पुन पुर्खौली नाचमा सहभागी हुन थाल्नुभएको छ । चिमखोलास्थित अमर माविमा कक्षा ७ मा अध्ययनरत पुनले गाउँमा आयोजना हुने पुर्खौली नाचमा मारुनीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएका हुन् । अग्रजबाट नान सिकेपछि उनले पुर्खौली समूहसँगै जोडिएर आफ्नो कलाकारितालाई अगाडि बढाउँदै आएको बताए ।
चिमखोलाको पुर्खौली समूहमा अहिले चार जना नयाँ कलाकार जोडिएका छन् । अमनसँगै ११ वर्षीय नविन पुन, १० वर्षीय आर्नलपहरे पुन र १६ वर्षीय रोहन गर्बुजाले पुर्खौली नाचअन्तर्गत मादले र मारुनीको भूमिकामा प्रस्तुति दिँदै आउनुभएको हो । युवापुस्ता शिक्षा, रोजगारीलगायतको खोजीमा बाहिर जाँदा गाउँमा पुर्खौली कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समस्या हुन थालेपछि ज्येष्ठ नागरिकले नयाँपुस्तालाई समूहमा सहभागी गराएर नाच देखाउन थालिएको पुर्खौली समूहका मादलेरोहन गर्बुजाले बताए ।
“मेरो बुबा पनि पुर्खौली नाच नाच्नुहुन्छ, उनकै प्रेरणाले म मादले बनेर नाच्न थालेको हुँ । आफ्नो पुर्खाले सुरु गरेका संस्कृतिलाई निरन्तरता दिन पाउँदा गौरवको अनुभूति हुने गरेको छ”, गर्बुजाले भने । नयाँ र युवापुस्ताका कलाकारले फुर्सदको समयमा विद्यालय तथा समुदायका विविध गतिविधिमा पुर्खौली नाचको अभ्यास गर्दै आएका उनको भनाइ छ ।
“पुनमगर समुदायमा पुर्खौली मादले, मारुनी नाच मौलिक संस्कृतिका रूपमा रहेको छ । पछिल्लो समय युवायुवती रोजगार तथा शिक्षाका लागि विदेश पलायन हुने थालेपछि गाउँमा पुर्खौली नाच पुस्तान्तरण हुन सकिरहेको छैन”, गर्बुजाले भने ।
गाउँमा हुने उत्सव, मेला पर्व र पूजाआजामा ज्येष्ठ नागरिकले पुर्खौली नाचका साथै परम्परागत कला, संस्कृतिका विविध गतिविधि सञ्चालन गर्दै आएकामा पछिल्लो समय युवापुस्ताको सहभागिता बढाउन पहल थालिएको गर्बुजाले बताए । पुख्र्यौली नाचका लागि कम्तिमा चार जना मादले र मारुनीसँगै सोरठी भाकामा गीत गाउन १५ जनाभन्दा बढी कलाकार आवश्य पर्ने भएकाले सोहीअनुसार समूह बनाउनुपर्ने उनले जानकारी दिए ।
एउटा पुख्र्यौली नाचका लागि एकै पटक धेरै जना आवश्यक पर्ने जनाउँदै उनले नयाँ पुस्ताको अभाव देखिन थालेपछि विद्यालयतहबाट नयाँ कलाकारलाई पुर्खौली नाचसम्बन्धी कला सिकाउन थालिएको चिमखोलाका अग्रज कलाकार गम पुनमगरले बताए ।
बेलायतमा रहेका स्थानीय दुत गर्बुजाले २० वटा मादल उपलब्ध गराएपछि नयाँ पुस्ताले विद्यालयमा फुर्सदको समय सदुपयोग गरी पुर्खौली नाच सिक्दै आएका छन् । “चिमखोला संस्कृतिमा धनी छ, यहाँबाट सुरु भएको थाली नाच अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चर्चामा छ । पुख्र्यौली नाच पनि हाम्रो गाउँमा प्रख्यात छ, पुर्खाले जोगाउँदै ल्याएका कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै निरन्तरता दिन हामी लागिपरेका छौँ”, उनले भने।
पुर्खौली समूहमा युवायुवतीको खाँचो भइरहेको समयमा विद्यालयका विद्यार्थी पुर्खौलीमा आकर्षित भएपछि यसलाई जगेर्ना गर्दै पुस्तान्तरण हुनेमा आशा पलाएको उनकोे भनाइ छ । ग्रामीण भेगमा मेलापर्व, विवाह, क्षवरलगायत धार्मिक, सांस्कृतिकदेखि सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमा समेत पुख्र्यौली नाच प्रदर्शन गर्ने परम्परा रहिआएको अग्रज कलाकार पुनमगरले बताए ।
“सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठी भाकाको कम्पनमा नाच्ने कलाकारदेखि हेर्ने दर्शकसम्म काम्ने यो नाचको अनौठो विशेषता छ । देवीदेवतालाई पुकारेर सरस्वती जगाउँदा सरस्वती जागेर कामेकालाई मादलको तालले फेरि सामान्य अवस्थामा फर्काउने गरिन्छ”, उनले भने ।
पुख्र्यौली नाचका लागि गाइने ख्याली र सोरठी भाकामा देवीदेवताका कथादेखि मायाप्रेम र सद्भावसँगै अधिकार र जिम्मेवारीका विषयलाई टुक्का गीतमार्फत गाउने चलन रहिआएको अग्रज कलाकार पुनमगरले जानकारी दिए ।
जिल्लामा पुख्र्यौली नाच लोकप्रिय मौलिक संस्कृतिका रूपमा रहेपनि युवापुस्ताको अभाव र बाह्य संस्कृतिको प्रभावले कला, संस्कृति लोप हुने जोखिम बढ्न थालेकाले यसको संरक्षणका लागि समुदायस्तरमा जागरण अभियान थालिएको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले बताए ।
युवायुवतीले पुख्र्यौली नाच र सोरठी गाउन सिके पनि उनीहरू विदेश पलायन हुने भएकाले ज्येष्ठ नागरिक संस्कृति जगेर्नामा अग्रसर बन्नुपरेको भन्दै उहाँले नयाँ पुस्तालाई मौलिक परम्परा र कला, संस्कृति पुस्तान्तरण आवश्यक रहेकामा जोड दिए ।
“पुर्खौली नाचमा मादलेको भूमिकामा पुरुष हुन्छन् भने पुरुष नै महिलाको भेषमा सजिएर मारुनी बन्ने गर्छन् । महिलाले सोरठी र ख्याली भाका गाउँदा मादले र मारुनीले गीतको भाकामा मादलको ताल मिसाएर नाच देखाउँछन् । चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाँले सिँगारिएर पुरुष मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी, भाङ्ग्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बन्ने गर्छन्”, अध्यक्ष थापामगरले भने ।
पछिल्लो समय अध्ययन, रोजगारी, व्यापारव्यवसायलगायत कारणले गाउँ छाडेर देश तथा विदेशमा पुगेका म्याग्दीका पुनमगर समुदायले गाउँ र टोलस्तरमा रहेका पुर्खौली नाचलाई विस्तार गर्दै संरक्षण र प्रवद्र्धनमा भूमिका निर्वाह गरिरहेका छन् ।
वि.सं.२०८२ चैत १९ बिहीवार १४:२५ मा प्रकाशित






























