गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाकी उपाध्यक्षको उम्मेदवार उमा कार्की थापाले यो पुस्ताले मात्रै एनआरएनए चलाउन नसक्ने बताउनु भएको छ ।
कार्कीले मानिस सधैं एउटै पद तथा आन, मान अनि सम्मानका साथै एकैस्थानमा बस्न नसक्ने बताउँदै समय र परिस्थिति अनुसार रुपान्तरित हुँदै जाने मानविय स्वभाव रहेकाले यो पुस्ताले मात्रै एनआरएनएलाई जीवन्त बनाउन नसक्ने बताउनु भएको छ ।
दोश्रो पुस्तालाई संस्थाप्रति आकर्षित गराउन आफू लागिपर्ने बताउँदै कार्कीले भन्नु भयो ‘यो पुस्ताले मात्रै एनआरएन चलाएर अनन्तसम्म संस्था जीवन्त रहन सक्दैन, दोस्रो पुस्तालाई यसप्रति आकर्षिण गराइ दीर्घकालीन रुपमा सिर्जशिल माध्यमबाट संस्थालाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्ने मेरो योजना छ ।’

एनआरएनए अमेरिकालाई रुपान्तरण गर्ने अठोट बोकेकी सामाजिक अभियन्ता समेत रहनु भएकी थापाले आफूमा भएको ज्ञान, सीप र क्षमतालाई नेपाल समुदायको हितमा प्रयोग गर्न चाहेको बताउनु भएको छ । थापा अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपाली समुदायबीच मात्र नभएर अमेरिकाभरीका नेपालीबीच समाजसेवीको रुपमा समेत परिचिति हुनुहुन्छ ।
नेपाली महिलाहरुको सीप विकास र प्रगतिका लागि अनवरत रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएकी कार्कीले आफूले अमेरिकामा बसेर १२ वर्षसम्म हासिल गरेको सीप आर्थिक सवलता र व्यवहारिकतालाई पूर्णरुपमा नेपाली महिलाको हितमा प्रयोग गर्ने बताउनु भएको छ । कार्कीले समाजसेवामार्फत अमेरिकी नेपाली समुदाय, नेपाली महिला दिदी बहिनीलाई आर्थिक सम्पन्नता र समृद्धितर्फ लैजानेमा पूर्ण प्रतिबद्ध रहेको समेत बताउनु भएको छ ।
आर्थिक सवलता नभई महिलामात्र होइन् पुरुष अघि बढ्न नसक्ने बताउने कार्कीले आर्थिक गतिबिधि तथा आयआर्जन सम्बन्धी विभिन्न तालिम, सेमिनार, गोष्ठिका माध्यमबाट उद्यमशीलताको विकास गर्ने र सानातिना व्यवसायीलाई माथि उठाउन तथा व्यवसायमा जान चाहने नवउद्यमीलाई विजनेश अवधारणाको प्रशिक्षण दिने समेत कार्कीको चुनावी प्रतिवद्धता छ ।
गणेश–फाउन्डेशनकी अध्यक्ष समेत रहेकी थापाले अमेरिका रहेका धेरै नेपाली संघ संस्थाका माध्यमबाट आफ्नो समाजसेवालाई निरन्तर नेपाल र नेपालीको हितमा अघि बढाउनु भएको छ ।
वि.सं.२०७४ असार ६ मंगलवार ०७:०५ मा प्रकाशित



























