काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रूपमा कान्तिपुर टेलिभिजन अनुबन्धित भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा बिहीबार एनभीएलका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी ले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय तथा सीओओ विकास खेतान को उपस्थिति रहेको थियो।
सम्झौतापछि नेपाल भलिबल लिगका सबै खेलहरू कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन्। आयोजकका अनुसार खेलस्थलमा पुग्न नसक्ने दर्शकलाई लक्षित गर्दै प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको हो, जसले देशभरका खेलप्रेमीलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्च लिन सहज बनाउनेछ।
आयोजकले यो सहकार्यले नेपाली भलिबलको विकास, विस्तार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यसअघि एनभीएलले प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज टोली, टोली मालिक, लोगो, नारा तथा मुख्य र सहायक प्रशिक्षक सार्वजनिक गरिसकेको छ। प्रतियोगिताको टिकटिङ पार्टनरका रूपमा आईएमई खल्ती लिमिटेड सँग पनि सम्झौता भइसकेको छ।
नेपाल भलिबल लिगको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकले प्रतियोगितालाई नेपाली भलिबलको व्यावसायिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
वि.सं.२०८३ साउन १ शुक्रवार १०:४७ मा प्रकाशित






























