काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन र अर्जेन्टिनाबीचको फुटबल मैदानमा आज खेल मात्र होइन संगीत पनि सुन्न पाईने छ ।
आज न्यूयोर्कको मेटलाइफ रंगशालामा हुने विश्वकप फाइनल खेल केवल फुटबलको मैदानमा मात्र सीमित नभएर विश्व पप संगीतको पनि एउटा ऐतिहासिक महाफाइनल बन्ने भएको हो ।
अमेरिकी ’सुपर बाउल’ शैलीबाट प्रभावित भएर फिफाले विश्वकपको इतिहासमै पहिलोपटक मध्यान्तरमा २५ मिनेट लामो ’हाफटाइम शो’ आयोजना गर्न लागेको हो, जसले यतिबेला खेल र अ दुवै क्षेत्रमा बेग्लै रसायन र उत्साह सिर्जना गरिरहेको छ।
यस अभूतपूर्व सांगीतिक मञ्चमा विभिन्न महादेश, पुस्ता र संस्कृतिको प्रतिनिधित्व गर्ने म्याडोना, शकिरा, जस्टिन बिबर, बीटीएस र बर्ना बोयजस्ता विश्वचर्चित हस्तीहरूले आ–आफ्नो जादु छर्नेछन् । अहिलेसम्म आधिकारिक गीतसूची सार्वजनिक नभए पनि शकिरा र बर्ना बोयले विश्वकप २०२६ को आधिकारिक गीत ’डाई डाई’ सँगै आफ्ना अन्य चर्चित हिट गीतहरूको संयुक्त प्रस्तुति दिने अनुमान गरिएको छ । यो जमघट केवल मनोरञ्जनका लागि मात्र नभई भूराजनीतिक उथलपुथलका बीच विभाजित संसारलाई जोड्ने एउटा बलियो सूत्र पनि बन्न सक्छ। यसको स्पष्ट कूटनीतिक झल्को फिफा अध्यक्ष जियानी इन्फान्टिनोले राष्ट्रपति डोनाल्ड ट्रम्पकै सामुन्ने दिएको अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ, जो आफैं हलिउड र सेलिब्रेटीप्रति अनुदार मानिए पनि यस ऐतिहासिक प्रस्तुतिका साक्षी बन्नेछन्
।
यो सो सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ, जहाँ फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डमार्फत विश्वभरका बालबालिकाको शिक्षा र फुटबलका लागि १० करोड अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ र प्रत्येक टिकटबाट एक डलर यसै कोषमा योगदान भइरहेको छ ।
तर, यो नयाँ प्रयोगलाई लिएर खेल विश्लेषक र सञ्चारमाध्यमहरूमा व्यापक बहस र आलोचना पनि सुरु भएको छ । आलोचकहरूले सामान्यतया १५ मिनेट हुने मध्यान्तरलाई बढाएर २५ मिनेट पु¥याउँदा खेलाडीको शरीर चिसिने, खेलको लय बिग्रने र दोस्रो हाफमा चोटपटकको जोखिम बढ्ने चिन्ता व्यक्त गरेका छन् भने कतिपयले फिफाले फुटबललाई खेलभन्दा बढी व्यापार र अमेरिकीकरण गर्न खोजेको आरोप लगाएका छन् । अर्कोतर्फ, समर्थकहरूले भने यसलाई फुटबलमा रुचि नभएका नयाँ र युवा दर्शकलाई भित्र्याउने र फाइनललाई एउटा भव्य अन्तर्राष्ट्रिय सांस्कृतिक उत्सव बनाउने सुनौलो अवसरका रूपमा लिएका छन्। फिफाले खेलको निष्पक्षता र खेलाडीको हितमा कुनै सम्झौता नहुने स्पष्ट पारे पनि यसको व्यावहारिक नतिजा भने खेल सम्पन्न भएपछि नै अझ स्पष्ट हुनेछ ।
वि.सं.२०८३ साउन ३ आइतवार १७:४१ मा प्रकाशित






























