काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप खुला रूपमा सतहमा आएको छ। पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूह (नियमित महाधिवेशन पक्षधर) ले साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक घोषणा गरेसँगै काँग्रेसभित्रको शक्ति संर्ष थप सतहमा आएको हो ।
आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत देउवा पक्षले राष्ट्रिय भेलाको घोषणा गर्दै त्यससम्बन्धी विस्तृत जानकारी आगामी साउन ६ गते जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा सार्वजनिक गरिने जनाएको हो।
पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान ९प्रज्ञा भवन० मा संस्थापन पक्षको कार्यक्रमभन्दा छुट्टै भव्य स्मृति समारोह आयोजना गर्ने निर्णय सुनाउँदै उक्त कार्यज्ञmममार्फत राष्ट्रिय भेलाको मिति, समय र स्थान साउन ६ गते सार्वजनिक गरिने जानकारी दिए।
कार्यक्रम व्यवस्थापनका लागि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको पनि उनले जानकारी दिए। संस्थापन पक्षले सोही अवसरमा ‘ग्रीन रन’ लगायतका कार्यक्रम गर्ने तयारी गरिरहेका बेला देउवा समूहले समानान्तर कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको राजनीतिक ध्रुवीकरण थप स्पष्ट भएको छ।
प्रदेशस्तरीय भेलाहरू सम्पन्न गरिसकेको देउवा समूहले अब राष्ट्रिय भेलामार्फत आफ्नो संगठनात्मक उपस्थिति थप सुदृढ बनाउने रणनीति लिएको देखिन्छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको उक्त समूहले राष्ट्रिय भेलालाई पार्टीको भावी कार्यदिशा, संगठनात्मक रणनीति तथा लोकतान्त्रिक अभ्यासबारे व्यापक छलफल गर्ने मञ्चका रूपमा अघि सारेको छ।
एकताको प्रयास असफल भएको निष्कर्ष
पत्रकार सम्मेलनमा बोल्दै नेता मीन विश्वकर्माले पार्टी एकताका लागि पटक–पटक गरिएको संवाद र सहमतिका प्रयासहरू सार्थक हुन नसकेको बताए। नेतृत्वले आवश्यक लचकता नदेखाएको र एकलौटी ढंगले अघि बढ्न खोजेकाले सहमति जुट्न नसकेको उनको आरोप थियो।
उनले भने, “पटक–पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता देखिएन। त्यसैले आजसम्म भएका सबै प्रयास उपलब्धिमूलक हुन सकेनन्। झगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित नभए पनि मेलमिलापको आशा भने सधैं रहन्छ।”
देउवा समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयलाई पनि “बदनियतपूर्ण र अन्यायपूर्ण” भन्दै विधिको शासन र पार्टी एकताका लागि आफूहरू अझै प्रतिबद्ध रहेको दाबी गरेको छ।
शक्ति संघर्ष नयाँ दिशातर्फ उन्मुख
देउवा पक्षले विशेष महाधिवेशनपछि बनेको गगन नेतृत्वले सात महिनासम्म पनि पार्टी एकीकरण प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएको छ। अदालतको फैसला आएको चार महिना बितिसक्दा पनि एकताको दिशामा कुनै ठोस पहल नभएको उनीहरूको भनाइ छ।
समूहले वर्तमान राष्ट्रिय राजनीति अस्थिर मोडमा पुगेको, स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको र यस्तो अवस्थामा कांग्रेसभित्र बलियो एकता अपरिहार्य भएको निष्कर्ष निकालेको छ। साथै, संस्थापन पक्षका केही सार्वजनिक अभिव्यक्तिले सहकर्मी राजनीतिक दलसँगको सम्बन्धमा असर पुर्यावएको र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई समेत कमजोर बनाएको आरोप लगाइएको छ।
आगामी साउन ६ गते सार्वजनिक हुने राष्ट्रिय भेलाको मिति, त्यसमा सहभागी हुने नेताहरूको उपस्थिति र भेलाबाट आउने राजनीतिक सन्देशले कांग्रेसको आगामी दिशा तय गर्ने संकेत दिने अपेक्षा गरिएको छ। पार्टीले यो विवादलाई सहमतिमार्फत समाधान गर्छ वा शक्ति संघर्ष अझ तीव्र हुने देखिएको छ।
वि.सं.२०८३ साउन ३ आइतवार १८:३३ मा प्रकाशित






























