काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ गतेदेखि सुरु भएको छ दिने एक्स्पोको पाँचौँ दिनसम्ममै आयोजकले अपेक्षा गरेको कुल अवलोकनकर्ता सङ्ख्या पार गरिसकेको छ । आयोजकका अनुसार पाँच दिनमा एक लाख ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन्, जबकि नाइमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसनले छ दिनमा करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो ।
शनिबार मात्रै करिब ४२ हजार अवलोकनकर्ता भृकुटीमण्डप पुगेका थिए । पाँचौँ दिनसम्मको उत्साहजनक सहभागिताले एक्स्पोप्रति सर्वसाधारणको आकर्षण अपेक्षाभन्दा निकै बढी देखिएको आयोजकको भनाइ छ । अटो एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले आफूहरू उत्साहित भएको बताएका छन् ।
उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । यसरी सुरुवाती चार दिनमै १ लाखभन्दा बढी र पाँचौँ दिनसम्म आइपुग्दा १ लाख ५० हजारभन्दा बढीले एक्स्पो भ्रमण गरेका हुन् ।
यसपटकको एक्स्पोमा ५३ भन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी छन् । दुईपाङ्ग्रे, चारपाङ्ग्रे, विद्युतीय तथा पेट्रोलियम ऊर्जाबाट चल्ने सवारीसाधन, विद्युतीय मोबिलिटी प्रविधि, स्पेयर पार्ट्स तथा अन्य अटोमोबाइल उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । आयोजकका अनुसार एक्स्पो अवधिमा ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन् ।
एक्स्पोको मुख्य आकर्षण भनेको नेपालमा नयाँ प्रवेश गरेका तथा बजार विस्तार गरिरहेका ब्रान्डका विद्युतीय सवारीसाधन बनेका छन् । चारपाङ्ग्रेमा नयाँ विद्युतीय कार तथा एसयूभीदेखि दुईपाङ्ग्रेमा नयाँ पुस्ताका ई–स्कुटर र इलेक्ट्रिक मोटरसाइकलसम्म प्रदर्शनीमा राखिएका छन् । केही ब्रान्डले एक्स्पोमै आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्दै ग्राहकबाट बुकिङसमेत लिइरहेका छन् ।
अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर पावर, ड्राइभिङ रेन्ज, चार्जिङ समय, चार्जिङ पूर्वाधार, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुबारे विशेष चासो राखेका छन् । यसले नेपाली उपभोक्ताको ध्यान केवल सवारीसाधनको मूल्यमा मात्र नभई दीर्घकालीन सञ्चालन खर्च, प्रविधि र सेवा सुविधातर्फ समेत केन्द्रित हुँदै गएको देखाएको छ ।
एक्स्पोमा नयाँ प्रविधिको प्रयोगसमेत विशेष आकर्षण बनेको छ । Ather Energyले नयाँ 450X Overtones Series सहित Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता स्मार्ट राइडिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले ६ किलोवाटको फास्ट चार्जरसमेत प्रदर्शनमा राखेको छ, जसले १० मिनेटमा करिब ३० किलोमिटरको राइडिङ रेन्ज थप्न सक्ने जनाएको छ ।
यसैगरी एक्स्पोमा सहभागी ब्रान्डहरूले ग्राहक आकर्षित गर्न विभिन्न छुट, बुकिङ सुविधा, एक्सचेन्ज, वित्तीय सहजीकरण तथा अन्य अफरहरू ल्याएका छन् । त्यसैले नयाँ सवारीसाधन खरिद गर्ने योजनामा रहेका उपभोक्ताका लागि एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडलको मूल्य, प्रविधि, रेन्ज, सुविधा र बिक्रीपछिको सेवाबीच तुलना गर्ने अवसर बनेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करणमा १८ नयाँ दुईपाङ्ग्रे ब्रान्ड र २९ चारपाङ्ग्रे ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने वा नयाँ उत्पादन प्रस्तुत गर्ने अवसर पाएका छन् । प्रदर्शनीमा रहेका विद्युतीय सवारीसाधनको मूल्य करिब २० लाख रुपैयाँदेखि ३ करोड ५० लाख रुपैयाँसम्म रहेको विवरण सार्वजनिक भएको छ ।
नयाँ कार, ई–स्कुटर, इलेक्ट्रिक मोटरसाइकल वा अन्य मोबिलिटी प्रविधिबारे जानकारी लिन चाहनुहुन्छ भने आज अन्तिम दिन भृकुटीमण्डप पुग्न सक्नुहुन्छ—नाइमा मोबिलिटी एक्स्पो २०२६ नछुटाउनुहोस् ।
वि.सं.२०८३ साउन ३१ आइतवार १०:२५ मा प्रकाशित






























