back
CTIZAN AD

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

वि.सं.२०८३ साउन ३१ आइतवार

shares

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन् । पहिरोका कारण घर तथा टहरा भत्किनुका साथै ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन् ।

२०८३ साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायतका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोमा परी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४ः५० बजे मृत्यु भएको छ । यसअघि सोही वडाको फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८ः५५ बजे मृत फेला परेका थिए ।

पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ । आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको पनि ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

त्यस्तै, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन् ।

दुई जना अझै बेपत्ता

पहिरोबाट जोगिन भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

तीन जना उपचारपछि घर फर्किए

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति डिस्चार्ज गरिएको छ ।

घर तथा टहरा पूर्ण रूपमा क्षतिग्रस्त

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन् । ती टहरामा भने हाल मानिस बस्दै आएका थिएनन् ।

२०० जनालाई सुरक्षित स्थानमा सारियाे

पहिरोको उच्च जोखिममा रहेको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।

त्यस्तै झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै पहिरोको जोखिममा रहेका २०० भन्दा बढी स्थानीयलाई तत्कालका लागि सुरक्षित स्थानमा राखिएको छ ।

पैदलै घटनास्थल पुगेर उद्धारमा सुरक्षाकर्मी

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा पैदल बाटोसमेत अवरुद्ध भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली जोखिम मोलेर पैदलमार्फत घटनास्थल पुगेको छ । सुरक्षाकर्मीले बेपत्ताको खोजी, घाइतेको उद्धार, प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा क्षतिको विवरण संकलन गर्ने काम गरिरहेका छन् ।

लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई थप सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ । विशेषगरी सम्पर्कविहीन दुई जनाको खोजी तथा थप मानवीय क्षति हुन नदिन उद्धार टोलीले प्राथमिकताका साथ काम गरिरहेको छ ।

 

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१६ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...