काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण एनसेलको रसुवा टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक आकलनअनुसार बाढीका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ।
बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ। बाँकी तीनवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमै खटिएर काम गरिरहेको कम्पनीले जनाएको छ।
बाढीबाट प्रभावित ग्राहकलाई राहतस्वरूप एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई यो सुविधा प्रदान गरिएको हो।
कम्पनीका अनुसार सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो। सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको एनसेलले जनाएको छ।
त्यस्तै, ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी वा पूर्ण रूपमा बन्द भएका २५ हजारभन्दा बढी सिम पुनः सक्रिय गरिएको कम्पनीले जनाएको छ। यसबाट विपद्को समयमा प्रभावित ग्राहकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सहज भएको एनसेलको भनाइ छ।
बाढीका कारण क्षतिग्रस्त संरचनामध्ये रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रमा रहेको एक टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। नुवाकोटको त्रिशूली, विदुरमा रहेको टावर तथा रसुवाको तिरुमा रहेको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीले आवश्यक काम गरिरहेको छ।
यसैगरी, एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएस समेत प्रसारण गर्दै आएको छ। ती सन्देशमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउनुअघि खाता, क्यूआर तथा लिंक आधिकारिक भए/नभएको सुनिश्चित गर्न आग्रह गरिएको छ।
साथै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स तथा हृदयविदारक फोटो–भिडियो नराख्न र राखिसकेको भए तत्काल हटाउनसमेत अनुरोध गरिएको एनसेलले जनाएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १०:२६ मा प्रकाशित






























