
लम्जुङ खोला साँथर गाउपालिका वडा नं ५ सिङ्दीमा जन्मिएर पोखरा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा बसोबास गरिरहेका गौतम गुरुङ चलचित्र मार्फत गुरुङ समुदायको पहिचान, भेषभुषा तथा संस्कृतिको संरक्षणमा लागि परेका छन् ।
आफ्नो भेषभुषा, भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धन नगरेसम्म कुनै पनि जातिको पहिचान तथा अस्तित्व नरहने ठहर गरेका गौतमले गुरुङ भाषाका चलचित्र बनाएर आफ्नो समुदायको पहिचान तथा संरक्षणमा लागि परेका छन् ।
बाल्य अवस्थामा खेती किसानी गोठाला गरेर विताएका गौतम जवानी अवस्थामा भारतीय आर्मिको हवल्दारसम्म पुगेर अवकास लिए । २०३४ सालमा उनका दाईले नै गौतमलाई भारतीय सेनामा भर्ति हुन जोड गरेका थिए । भारतीय सेनामा रहँदा मनमा लागेका कुरा, आफ्नो जीवनमा भोगेका कुराहरुलाई गीत, कविता तथा कथा मार्फत कापिको पन्नामा कोर्थे । तर, उनले कहिल्यै सोचेनन् यी सबै संगालेर राखेमा एकदिन गीत, कविता तथा कथाको संगालो निकाल्न पाइन्छ भनेर । उनलाई डर थियो धेरै नपढेकै कारण आफूले लेखेका गीत कविताहरु नराम्रा हुन्छन् अशुद्ध हुन्छन अनि छाप्न पनि मिल्दैन् ।
कतिबेला लेख्न भ्याउनुहुन्थ्यो आर्मिको काम गा¥हो थियो होला नी ? भन्ने संसारन्युजको प्रश्नमा उनी भन्छन् ‘ बोर्डर एरियामा डिउटी परेको बेलामा व्यस्त भइन्थ्यो, शान्ति भएको क्षेत्रमा डिउटीमा खटिदा लेखेर साथीभाइ लाई सुनाउथे उनीहरुले राम्रो भनेर प्रसंसा पनि गर्थे, छाप्ने छपाउने भन्ने सोच आएन, फेरि डर लाग्थ्यो मैले लेखेको कुराहरु कसरी छाप्न मिल्ला र अशुद्ध हुन्छन् भनेर । मैले धेरै पढेको पनि थिइन् !’ गौतमलाई थाहा थिएन धेरै नपढे पनि आफ्ना भोगाइ र भावनाहरु कपिको पानामा चुस्त दुरुस्त उतारेर राख्दा त्यसलाई पूर्णरुप दिन सकिन्छ भन्ने ।
उनी ईण्डियन आर्मिबाट रिटार्यड भएर आए । त्यतिबेला उनीसँगै अरु १२–१३ जना सााथीहरु पनि थिए पोखराका जो सँगै पेन्सन निस्किएर आएका थिए । पोखरा आएपछिका दिनहरुमा साथीहरु सेक्युरेटी गार्डमा जागिर खान भन्दै केही मकाउ, केही मलेसिया लगायतका देशहरुमा गए । उनलाई पनि जाउँ भने तर उनको मन सेक्युरेटीमा जान मानेन् । उनलाई देशमै बसेर समाज सेवा गर्ने र आफ्नो समुदायको उत्थानमा लाग्ने रहर जाग्यो । अनि त उनी हिमाली गुरुङ समाज सिङ्दी तमुसमाजको सचिव भएर ८ वर्ष सामाजिक सेवामा लागे । उनी त्यसको सास्कृतिक विभागको संयोजक रहे । त्यहाँ रहँदा उनले गुरुङ समुदायको संस्कार संस्कृतिलाई जर्गेना गर्नुपर्छ भन्दै सोरठी र घाटु नाँचको संरक्षणमा लागे ।
सानैदेखि गाउने, बजाउने रहर थियो उनमा । तबला, गितार, हार्मुनियम मादल लगायतका बाजा बजाएर रमाउने उनलाई रंगक्षेत्रतिरै जम्न मन लाग्यो । अनि त पेन्सन आउँदा ल्याएको केही पैसा लिएर चलचित्र क्षेत्रतिर होमिए । चलचित्र क्षेत्रमा आउनुको उद्धेश्य भनेको नै गुरुङ समुदायको संस्कार र संस्कृतिको प्रवद्र्धन गर्नका लागि हो भन्छन् गौतम ।
फिल्म निर्देशक खुस बहादुर गुरुङ पनि लम्जुङकै थिए । उनले खुस बहादुरसँग मिलेर ६ वटा म्युजिक भिडीयो बनाए । २ वटा डकुमेन्ट्री र ११ वटा फिल्म बनाएका छन् । जसमा गुरुङ भाषाका फिल्म मात्रै ९ वटा निर्माण गरिसकेका छन् । त्यसमा धेरै चलेको फिल्म ‘यस्तै रैछ जिन्दगी’ र ‘कान्छा’ हन । ती फिल्महरुले गुरुङ फिल्म एसोसियसनबाट २०७२ मा ‘वेस्ट फिल्म अर्वाड’ समेत प्राप्त गरेका थिए ।गौतमले अहिले ‘शुभेच्छा फिल्म प्रोडक्सन’ नामक कम्पनी समेत दर्ता गरिसकेका छन् ।
उनले यस क्षेत्रमा लाग्नु व्यवसायिक सोच र रहर भन्दा पनि संसारभरी छरिएर रहेका गुरुङ समुदायलाई एकजुट बनाउनु मुख्य उद्धेश्य रहेको बताउँछन् । ‘यस क्षेत्रमा लाग्नु मेरो रहर मात्र होइन्, गुरुङ समुदायको मौलिक संस्कृतिलाई देश विदेशमा परिचित गराउनु हो’, उनी भन्छन्,‘ चलचित्रकै माध्यमबाट संसारभरी छरिएर रहेका गुरुङ समुदायलाई एकजुट बनाउने उद्धेश् पनि हो ।’
हाल खुस बहादुर गुरुङको लेखन निर्देशन र उनी निर्माता रहेको पछिल्लो फिल्म ‘मनाङ्गे नानी’ बजारमा आएको छ । जसमा गाउँमा जन्मिएर ह्ुर्किएका युवायुवतीको प्रेमकथालाई समेट्दै आफ्नो अभिभावकको पनि कुरा सुन्नु पर्ने र आफ्नो मौलिक संस्कार र संस्कृतिको पनि सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । साथै अर्कोकुरा विश्वको उच्च भागमा रहेको तिलिचो तालमा पुगेर त्यहाँको सुन्दर प्राकृतिक दृश्यमा छायांकन गरिएको छ ।
‘हामीले प्रेमका कुरा मात्र नभएर देशभित्र भएका प्रकृतिले दिएका सुन्दर उपहार पनि विश्व सामु पु¥याउने प्रयास स्वरुप विश्वको उच्च भागमा रहेको तिलिचो तालमा सुटिङ गरेका हौं ।’ उनी भन्छन् ‘सम्भवत हामि नै पहिलो टोली हौं १६ हजार फिट अग्लो स्थानमा रहेको तिलिचो तालमा पुगेर सुटिङ गर्ने । अरु त जानै सक्तैनन्, हामी पनि सुटिङका लागि २७ जना हिडेका थियौं । तर, नसकेर १२ जनामात्र त्यहाँ तिलिचो तालमा पुग्न सक्यौं अरु तल बेस क्याम्पमै बसे ।’
गौतमका अनुसार विशेष गरेर विदेशी पर्यटकहरुको मन तान्ने गरी बनाइएको यस फिल्मले नेपालको पर्यटन प्रर्बद्धन गर्न सहयोग मिल्ने आसा गरेका छन् । त्यसलै उनी मनाङ्गे नानीलाई देश विदेशमा लगेर प्रदर्शन गर्न चाहान्छन् । उनी भन्छन्, ‘विदेशमा रहनु भएका दाजुभाइले सहयोग गरिदिनु भएमा अवस्य पनि यस फिल्मबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने मैले आसा गरेको छु ।’ गौतम भन्छन् । साथै शुभेच्छा फिल्म प्रोडक्सनकै अर्को ङै माया क्योंलाई (मेरो माया तिमीलाई) नामको गुरुङ भाषाको अर्को चलचित्र पनि निर्माण भइरहेको छ ।
मनाङ्गे नानीमा मनाङको पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखिएको छ । मनाङ जिल्ला विश्वमै परिचित भएपनि त्यहाँको संस्कृतिका बारेमा कमैलाई थाहा भएकोले त्यहाँको वास्तविकता देखाउन खोजिएको पनि गौतमले संसारन्युजसँग बताए ।
सबै जात जातिले आफ्नो संस्कार र संस्कृतिको जर्गेना नगर्दा सम्म कुनै पनि जातिको पहिचान तथा अस्तित्व नरहने र जातिको पहिचान नरहेमा नेपालको अस्तित्व पनि खतरामा पर्ने हुनाले आफ्नो मातृ संस्कृतिको पहिचान तथा संरक्षण गर्न सबै लाग्नुपर्छ भन्छन् गौतम । ‘गुरुङ समुदाय विशेष गरेर विदेशमा बस्ने (तमुधिं) का साथिहरुले आर्थिक सहयोग नगरेपनि एकै बचन तपाइ यस्तो काममा लाग्नुभएको रहेछ भनेर मिठो बचन बोलिदिए पनि हुन्छ । आर्थिक सहयोग गर्नुपर्छ भन्ने मेरो सोचाइ होइन ।’ गौतमले विशेषत गुरुङ समुदायलाई गुरुङ संस्कार बचाउन लागी पर्न अनुरोध समेत गरेका छन् ।