तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको आक्रमणका लागि युक्रेनलाई जिम्मेवार ठहर गर्दै इरानले त्यसको उचित जवाफ दिने चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको इरानले जनाएको छ।
इरानी सरकारी समाचार संस्था इरनाका अनुसार विस्फोटबाट प्रभावित जहाज इरानको व्यापारिक प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो। घटनापछि इरानको विदेश मन्त्रालयले आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत र शत्रुतापूर्ण कार्यको संज्ञा दिँदै कडा विरोध जनाएको छ।
यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत क्यास्पियन सागर क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण सफल भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार आक्रमणको लक्ष्य इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाज तथा एक युद्धपोत थिए।
युक्रेनको सुरक्षा निकाय एसबीयूले पनि टेलिग्राममार्फत इरान–रुसबीच सैन्य सामग्री ढुवानीमा प्रयोग हुँदै आएका तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ।
घटनापछि इरानले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर औपचारिक विरोध जनाएको छ। इरानी सरकारी टेलिभिजनका अनुसार मन्त्रालयले उक्त आक्रमणलाई “शत्रुतापूर्ण र आपराधिक कार्य” को संज्ञा दिएको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा कालाससँगको संवादमा घटनाको निन्दा गर्दै ईयू र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट कडा प्रतिक्रिया आउनुपर्ने माग गर्नुभएको इरानले जनाएको छ।
रुस–युक्रेन युद्धको प्रभाव क्षेत्र विस्तार भइरहेका बेला क्यास्पियन सागरमा भएको यो घटनाले क्षेत्रीय तनाव थप चर्किने संकेत दिएको विश्लेषण गरिएको छ। इरानले आफू युद्धमा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमण अस्वीकार्य भएको जनाएको छ।
वि.सं.२०८३ साउन १० आइतवार १५:०३ मा प्रकाशित






























