काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि गृहमन्त्रीले नैतिक जवाफदेहिता वहन गर्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभामा गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै भावुक बनेको प्रसंग उल्लेख गर्दै बास्कोटाले केवल आँसु झारेर जिम्मेवारी पूरा नहुने टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “जवाफदेहिता भए राजीनामा देऊ।”
बास्कोटाले नागरिकको ज्यान जाने गरी भएको घटनामा राजनीतिक र नैतिक दुवै जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेका छन्। साथै, केही सञ्चारमाध्यमले घटनाको जिम्मेवारी सरकार वा सुरक्षा निकायभन्दा गोली लागेका व्यक्तिमाथि नै थोपर्ने प्रयास गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने प्रशासनले कर्फ्यु जारी गरी नेपाली सेनासमेत परिचालन गरेको छ।
वि.सं.२०८३ साउन ११ सोमवार १६:२३ मा प्रकाशित






























