back
CTIZAN AD

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

वि.सं.२०८३ साउन ११ सोमवार

180 

shares

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन्। ती कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्णमा पुगेका छन् भने बनेका संरचनाको उचित संरक्षण र रेखदेखको पर्खाइमा रहेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशका चार विमानस्थल बन्द अवस्थामा छन् । बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन सकेको छैन। लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ ।

सरकारले बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएपनि त्यसले पनि सार्थकता पाउन सकेको छैन। प्राधिकरणले पाँच वर्षअघि रु आठ करोड २४ लाख खर्चेर बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो ।

विसं २०२२ मा बनेको उक्त विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा आएर बन्द भएको थियो। २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा फेरि पनि निरन्तरता पाउन सकेन। केही समय नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गरेका थिए ।

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार ब्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो। पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

प्राधिकरणले विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेको छ। जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।

धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवलोकन गरेपछि उक्त अध्ययन समूहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको औँल्याएको थियो। नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थलको वैकल्पिक प्रयोग गर्ने विषयमा चर्चा चलेपनि कुनै ठोस योजना बन्न नसकेको बताए ।

“विमानस्थल सञ्चालन गर्ने वा वैकल्पिक प्रयोग गर्ने भन्ने विषयमा सङ्घ सरकारको ठोस निर्णय र योजना चाहिन्छ, यसमा आवश्यक समन्वय र सहजीकरण गर्न नगरपालिका सँधै तयार छ”, उनले भने, “राज्यको लगानी खेर जान दिनुहुँदैन, कुनै न कुनै रुपमा विमानस्थललाई उपयोगमा ल्याउनुपर्छ ।”

नियमित उडानको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकस्तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् । बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले कालोपत्र भइरहेको छ। उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ। नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको पनि डेढ दशक बित्न लाग्यो। प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो। धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले सो विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासीमा अहिले त्यो उत्साह पाइदैन। गाउँपालिकाका अध्यक्ष कान्छा घलेले विमानस्थल सञ्चालनमा पहल गरिएपनि वायुसेवा कम्पनीले रुचि नदेखाएको बताए । “विमान कम्पनीलाई उडानमा आकर्षित गर्न गाउँपालिकाले पनि केही बजेट विनियोजन गर्दै आएको थियो, यस वर्षदेखि हामीले बजेट पनि राख्न छोड्यौँ”, उनले भने, “विमानस्थल अलपत्र अवस्थामा छ, राज्यका निकायले यसमा कुनै चासो दिएका छैनन्।”

विसं २०३९ देखि विसं २०६८ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको अध्यक्ष घलेले बताए। यसबीच धावनमार्ग कालोपत्रदेखि अन्य पूर्वाधारमा लगानी गरिएपनि त्यो त्यसै खेर गएको छ। मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवातजावात गर्ने गर्थे। विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेपछि विमानस्थल बन्द भएको थियो ।

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सरकारको योजना अलपत्र परेको बताए। पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै वैकल्पिक प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको भनाइ छ। काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले यस क्षेत्रमा सडक यातायात सेवा नै बढी प्रभावकारी हुने देखिएको उहाँले बताउनुभयो। मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइसकेको छ। काठमाडौं–मुग्लिन सडक स्तरोन्नतिको चरणमा छ ।

विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द छ। पृथ्वी राजमार्ग बनेपछि उक्त विमानस्थल बन्द भएको थियो। विमानस्थलको धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरेपनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन। देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकामा रहेको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ ।

विमानस्थलको धावनमार्ग गौचरणमा फेरिएको छ। विमानस्थल क्षेत्रलाई घेराबार गरेर सुरक्षित भने गरिएको छ। प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दस करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । सडक नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल अहिले प्रयोगविहीन अवस्थामा छन् ।

वि.सं.२०८३ साउन ११ सोमवार १६:२४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...