फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन लाखभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। तीव्र हावा र उच्च तापक्रमका कारण आगो तीव्र रूपमा फैलिँदा आगो नियन्त्रणमा लिन चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
विविसीका अनुसार दक्षिण–पश्चिमी फ्रान्सको लेज–क्याप–फेरेट क्षेत्रमा लागेको डढेलो तीव्र हावाका कारण बोर्डो सहरतर्फ फैलिन थालेपछि थप ५५ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै फ्रान्सको गिरोन्डे र ल्यान्डेस क्षेत्रमा मात्र विस्थापित हुनेको संख्या करिब २ लाख ५० हजार पुगेको छ।
फ्रान्सका अग्निनियन्त्रक अधिकारी क्याप्टेन निकोलस ब्राजका अनुसार आगोले आफैंले हावाको तीव्र बहाव सिर्जना गरिरहेको छ, जसका कारण आगो अनियन्त्रित र अनिश्चित दिशामा फैलिरहेको छ। उनले आगो नियन्त्रणमा आउन अझै धेरै समय लाग्ने बताएका छन्।
डढेलो नियन्त्रणमा सहयोग गर्न फ्रान्स सरकारले सेना परिचालन गरेको छ। सैनिकहरूले झाडी सफा गर्ने, आगो रोक्न सुरक्षात्मक खाली क्षेत्र ९फायरब्रेक० बनाउने तथा अग्निनियन्त्रकलाई आवश्यक सहयोग गरिरहेका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोंले प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले आवश्यकताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उता, स्पेनमा पनि डढेलोका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ। मौसममा केही सुधार आएपछि म्याड्रिड आसपासका क्षेत्रमा आगो नियन्त्रणमा केही सहजता आए पनि अवस्था अझै संवेदनशील रहेको अधिकारीहरूले जनाएका छन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। यसैबीच, भ्यालेन्सिया क्षेत्रमा डढेलो निभाउने प्रयासका क्रममा ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ। उनी आफ्नै कारभित्र मृत अवस्थामा फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच, बोर्डो आसपासको क्षेत्रमा बाक्लो धुवाँ फैलिएको छ भने स्थानीय बासिन्दाले हावामा डढेलोको तीव्र गन्ध महसुस भइरहेको बताएका छन्। प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सरेका पर्यटकहरूले आगोको भयावह अवस्थाको वर्णन गर्दै तीव्र हावाले डढेलोलाई झन् खतरनाक बनाएको बताएका छन्।
जलवायु परिवर्तनका कारण युरोपमा पछिल्ला वर्षहरूमा अत्यधिक गर्मी र डढेलोका घटना बढ्दै गएको भन्दै विज्ञहरूले यस्ता विपद् अझ तीव्र हुन सक्ने चेतावनी दिएका छन्।
वि.सं.२०८३ साउन १० आइतवार १४:०७ मा प्रकाशित






























