२४ मंसिर, गोरखा । नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् ।
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा-२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरेका हुन् ।
यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका छन् । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा २ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा.भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी भएका हुन् । डा. भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।
चीनकाजी हारे हरिराजले जिते
गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा (माओवादी केन्द्र) का नेता हरिराज अधिकारीले पराजित गरेका छन् । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरेका छन् ।
अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गरेका छन् । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।
वि.सं.२०७४ मंसिर २४ आइतवार ०६:३१ मा प्रकाशित