Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

आफूसँग जे छ त्यसलाई पूर्णरुपमा स्वीकार गरेर खुसी बनौं



नेपाली शब्दकोषमा पाइने ‘खुशी’ शब्द सुन्नासाथ हाम्रो मन प्रफुल्ल हुन्छ । प्राणी जीवनमा खुशी एक उर्जा हो । हामी मानिसहरु खुसी प्राप्तिका लागि हर समय हर प्रयत्न गरिरहेका हुन्छौं । खुसीले नै प्राणीमा सकारात्मक सोंच र आत्मविश्वास बढाइदिन्छ । यो एउटा शक्ति हो । यसले मनलाई प्रभावित गर्छ र मनभित्र आभास गराइदिन्छ । जसको कारण मानिस लगायत अन्य प्राणीहरु पनि आनन्दित र सन्तुष्टि महसुस गर्छन् ।

प्राय : मानिस अरुबाट खुशी प्राप्त गर्न लालायित हुन्छ । मानिस खुशीको खोजीमा यसरी दौडिरहेको हुन्छ, जसरी मृग कस्तुरीको खोजीमा भौंतारिन्छ । वास्तवमा त्यो खुशी अन्त कतै नभएर आफूभित्र लुकेर बसेको हुन्छ ।

रामभक्त हनुमानले शायद सञ्जीवनी बुटी चिनेको भए त्यति ठुलो पहाड बोक्नु पर्ने थिएन होला । जुन मानिसले आफूभित्र खुशी पहिचान गर्न सक्दछ त्यही मानिसले मात्र आनन्दको जीवन बिताउन सक्दछ ।

प्रत्येक मानिसको चाहना हुन्छ कि, जीवनमा ऐस, आराम होस्, बिलासिताको जीवन बिताउन पाइयोस् र मन प्रसन्न होस् भन्ने । तर यो सोचाइले मात्र प्रसन्नता मिल्न सक्दैन । जीवनको यात्रामा विभिन्न उतारचढाव आउँछन् । सबैकुराले सम्पन्न हुँदा हुँदै पनि मानिस हरपल खुशी रहन सक्दैन । त्यसको प्रमुख कारण हो असन्तुष्टि जबसम्म आत्मसन्तुष्टि मिल्दैन तबसम्म मानिस खुशी रहन सक्दैन । महान लेखक गिलबर्तले भनेका छन् पैसाले जरुरत पूरा गर्न सकिन्छ खुशी प्राप्त गर्न सकिँदैन र हाम्रो कल्चर र इमाजियसनले पनि हाम्रो खुशिमा बाधा पु¥याएको हुन्छ । खुशी न मागेर पाइन्छ न त किन्न नै । आफ्नो खुशीको लागि अरुको खुसी खोस्नु हुँदैन न त अधिनमा नै लिनहुन्छ । आफ्नो दिमागलाई एकत्रित गर्न सक्नु पर्दछ । आफूसँग जे उपलब्ध छन् त्यसलाई पूर्णरुपमा स्वीकार गर्न सक्नु पर्दछ अनि मिल्छ खुशी ।
बैज्ञानिकका दावा अनुसार हाम्रो दिमागले प्रत्येक दिन ६० हजार सोचहरु पैदा गर्छन् । यी सोचहरु मध्ये अधिकतम सोचहरु नकारात्मक हुन्छन् । अब यी सोचहरुलाई फिल्टर गर्ने काम आफूभित्रको तेस्रो आँखाको हो । यदि नकारात्मक सोचलाई आफूमाथी हावी हुन दिइयो भने जिन्दगी भर खुशी हुन सकिँदैन् । नकारात्मक सोचलाई हमेशा सकारात्मक सोचले जित्न सकेमा मात्र वास्तविक खुशी प्राप्त हुन्छ ।

मानिसले जन्मपश्चात् मृत्युपर्यन्तसम्म खुशीकै खोजीमा जीवन बिताउँछ । फरक यति हो कि उमेर र ब्यक्ति अनुसार कारण फरक हुन सक्दछ । जब मानिस आफ्नो आमाको गर्भबाट यस धर्तीमा पाइला राख्छ र आमाले स्तनपान गराउँछिन् । यो नै मानिसको जीवनको पहिलो खुशीको सुरुवात हो । यसैगरी उसको समयसँगै खुशीका कारणहरु बदलिने गर्दछन् । जब बालक स्कुल जान लाग्छ साथीहरूसँगको खेलमा नै उसको खुशी हुन्छ । जब पढ्दै र बढ्दै । जान्छ उसको खुशी राम्रो अंक प्राप्तिमा केन्द्रित हुन्छ । जब त्यही बिद्यार्थी रोजगारीमा परिणत हुन्छ । खुशीले राम्रो तलब र पदोन्नति पर्खिरहेको हुन्छ । त्यस्तै समयानुसार ब्यक्ति अनुसार घुमफिर, स्वादिलो परिकार, मन परेको ब्यक्ति सँगको भेटघाट, खेलकुद, संगीत यस्तै अन्य कारणहरुमा जहाँ सन्तुष्टि मिल्छ ऊ त्यही खुशी हुने गर्दछ । समग्रमा भन्नुपर्दा सकारात्मक सोचाइ बिना कुनैपनि हालतमा खुशी प्राप्त हुनै सक्दैन । यसै बिषयमा एक उदाहरण राख्न चाहन्छु ।

एकपटक एकजना बृद्ध आमा कतैबाट आउँदै हुनुहुन्थ्यो । त्यो बाटोमा तीनजना कामदारहरुले भवन निर्माणको कार्य गर्दै थिए । बृद्ध आमालाई जिज्ञासा भयो र एकजना कामदारलाई सोध्नु भयो–‘तिमी के गर्दैछौ बाबु ?’ ‘यति धेरै ईंटा बोकिरहेछु, तिम्रो अँखा छैन ? कामदारले उल्टो प्रश्न तेस्र्यायो । आमाले सोही प्रश्न दोश्रो कामदारलाई राख्नुभयो दोश्रो कामदारले जवाफ दियो ‘म मेहनतले काम गरेर आफ्नो र परिवारको पेट पाल्दैछु ।’ आमाले फेरि तेश्रो ब्यक्तिलाई पनि तेही प्रश्न दोहोर्याउने हिम्मत राख्नुभयो । तेश्रो कामदारले मुसुक्क हाँस्दै आमातिर हेरेर उत्तर दियो–‘म यो शहरमा अग्लो र आकर्षक टावर बनाउँदै छु, यहीँबाट सम्पूर्ण शहर अवलोकन गर्न सकिने छ । यो टावरले हाम्रो शहरको सान बढाउने छ ।’ जवाफ सुनेपछि आमा प्रफुल्ल भएर आफ्नो बाटो लाग्नुभयो ।

हामी सहजै बुझ्न सक्छौं कि तेश्रो कामदारसँग सकारात्मक बिचार थियो अनि सबभन्दा धेरै खुशी पनि ।

मानिस खुशी कसरी रहन सक्दछ भन्ने बिषयमा केही धारणाहरु यहाँ पेश गर्न चाहन्छु ।

सकारात्मक सोच-सधैं सकारात्मक सोच राख्ने, नकारात्मक सोचबाट जोगिन कोशिश गर्ने ।

स-साना कुरामा खुशी हुने- खुसीको साइज र तौल नहुने हुँदा सानो सानो कुरामा पनि खुशी हुने बानी बसाल्ने ।

ईष्या र डाहा नगर्ने- अरुप्रती ईष्या र डाहाको भावना नराख्ने । अरुको खुसीमा सरिक हुने । अरुको खुशीमा रमाउनाले पनि आँफुलाई सन्तुष्टि र खुसी मिल्न सक्दछ ।

अरुसँग तुलना नगर्ने-आफूलाई कहिले पनि अरुसँग तुलना नगर्ने । अरुको सुखसयल, रहन–सहन र खानपानले आफूलाई हिनताबोध हुन सक्छ । साथै अरुलाई पनि आफूभन्दा सानो र निचहरु देख्दा घमण्ड उत्पन्न गराउँछ । जसले गर्दा आफ्नो व्यक्तित्व पतन हुन्छ । भगवानले सृष्टि गरेको यो सुन्दर संसारमा सबैको समय निश्चित छ । त्यसैले हामी सबै बराबर छौं भन्ने सोचाइको बिकास भयो भने सन्तुष्टि र खुसी मिल्न सक्दछ ।

मनोरञ्जन गर्ने-मानिस सामाजिक प्राणी हो । कहिलेकाही एक्लै हुँदा अनेक कुराहरुले मन पिरोलिन सक्दछ । त्यसबेला संगीतको पनि सहारा लिन सकिन्छ सम्भवत समुहमा बसेर नृत्य, खेलकुद तथा अन्य मनोरन्जन मार्फत पनि एक्लोपनलाई हटाउन सकिन्छ । सञ्चारका माध्यमद्वारा टाढा रहेका साथीहरू र आफन्तहरुसँग कुरा गरेर पनि खुशी रहन सकिन्छ ।

पर्याप्त निन्द्रा-डाक्टरका अनुसार एक ब्यक्तिलाई कमसेकम ७ घण्टा निदाउन आवश्यक पर्दछ । यसले मानसिक र शारीरिक दुबैरुपमा स्वास्थ्य राख्दछ । स्वास्थ शरीरमा स्वच्छ बिचार पैदा हुन्छ त्यो पनि एउटा खुशीको कारण हुन सक्दछ ।

सपना देख्ने बानी- ठूला सपनाहरु देखौं जसले हामीलाई काम गर्ने इच्छा शक्ति बढाउँछ, इच्छा शक्तिले जागरुकता पैदा हुन्छ । जागरुकतामा खुशी लुकेको हुन्छ ।

घृणा नगरौं-कसैलाई घृणा नगरौं । नराम्रो दृष्टीकोणले अरुलाई हेरिरहँदा मनभित्रका सकारात्मक सोचहरु जलेर नस्ट हुन्छन् । अरुलाई माया र सम्मानको नजरले हेर्दा सन्तुष्टि मिल्दछ । त्यहीँ खुशीका मुनाहरु पलाउन थाल्दछन् ।

मद्दत गरौं -वृद्ध-बृद्धा, असहाय, बालबालिका तथा समस्यामा परेकालाई सक्दो मद्दत गरौं । उनीहरु खुसी हुन्छन् त्यो खुसीमा आफुपनी सहभागी बनौं । यस्तो कार्यले सन्तुष्टि मिल्छ ।

सत्य बोल्ने –सधै सत्य बोलौं । एउटा झुट लुकाउन सयौं झुट बोल्नु पर्ने हुन्छ । ती झुटहरु मनका अतिरिक्त बोझहरु हुन् । जस्ले असन्तुष्टि पैदा गर्दछन्, सत्य बोलौं त्यहीँ खुसीको बहार आउन थाल्दछ ।

तनाब-तनाव मानिसको सबभन्दा ठूलो दुश्मन हो । यसले आफूलाई दुःखी त गर्छ नै वरपर रहेका मानिसको खुशी पनि छिनिदिन्छ । तनावसँग खुसी डराउँछ । त्यसैले बेदको एक मन्त्र–जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ, आउने दिनमा जे होला सबै राम्रो होला भन्ने कुरा अबलम्बन गर्न सकेमा मन प्रफुल्ल हुन्छ र तनाव हट्छ ।

सन्तुलित र स्वच्छ भोजन-डाक्टरको भनाइ अनुसार स्वच्छ भोजनको सेवनले स्वच्छ बिचार उत्पन्न गराउँछ । स्वच्छ बिचारमा नै खुशीको बास हुन्छ ।

संगत-नराम्रो संगतले कुमार्गतिर लैजान्छ । राम्रो संगतले सत्मार्गतिर डो¥याउँछ । सत्मार्गले सन्तुष्टि र खुसी दिने काम गर्दछ । अरुले गरेको काममा सन्तुष्टि हुनसके मात्र मनमा सन्तोष मिल्दछ ।
ध्यान- संभव भएसम्म प्रातकालीनमा केही समय राम्रो कुरामा ध्यान गरौं, ध्यान, प्राणायाम र ब्यायमले मस्तिष्क तथा शारीरिक मजबुत हुन्छ । स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्कमा खुशीको आभास हुन्छ ।
अन्त्यमा, यस धर्तीमा पाइला राखे पश्चात् मशानघाटसम्मको यात्रामा विभिन्न समस्याहरु उत्पन्न हुनु स्वभाबिक नै हो । समस्याहरूसँग बिचलित नभई सत्कर्म गर्दै जाँऊ ! आफू खुशी रहौं र अरुलाई पनि खुशी राखौं ।

पैंयु गाउँपालिका -४ (पर्बत)
हाल- अफगानिस्तान


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको