वसुन्धरा (भिडियो सहित)
कवि गोपाल भण्डारी
नरको भरमा छ यो धरा
उसले किन्तु बुझेन यो कुरा ।
नर पस्दछ युद्धमा धुरा
प्रिय हुन्छन् धन, सुन्दरी सुरा ।।१।।
हतियार बने दरा खरा
खुकुरी औ तरबार बञ्चरा ।
बम बन्दुक तोप औ छुरा
घटिया छन् रणका परम्परा ।।२।।
कतिका यसले फुटे चुरा
बिचरा छन् महिला भयातुरा ।
बबुरा टुहुरा भए भुरा
सुखले चाल्न दिएन पाखुरा ।।३।।
छहरा पहरा र कन्दरा
सरितासिन्धु हिमाल टाकुरा ।
लहरा तरु झार पोखरा
सबले शोभित छिन् धनी धरा ।।४।।
नरहून् अब युद्धका जरा
नबनून् मानव नै कठैबरा ।
क्षिति शान्त बनोस् हराभरा
सबको आश्रय होस् वसुन्धरा ।।५।।
इति
सान्दर्भिक शब्दार्थः
धरा – पृथ्वी, वसुन्धरा, क्षिति
धुरा पस्नु – अरू लडिरहेको ठाउँमा जाइलाग्नु
भुरा – साना बालक
तरु – पादप, वृक्ष
सरिता – नदी
सिन्धु – समुन्द्र
रचयिताः गोपालप्रसाद भण्डारी
श्रीवल्लीनिकेतन बत्तीसपुतली, काठमाडौ नेपाल
हालः प्रतिष्ठानिकेतन गार्ल्याण्ड् टेक्सस् संयुक्तराज्य अमेरिका
वाचनः पण्डित तारानाथ भण्डारी, दिल्ली भारत
छन्दः वियोगिनी
दिनाङ्कः विसं कार्तिक २७ २०७३ साल