गोपाल शिवा
१० फेव्रुअरी आममाफी (एम्नेष्टी) को तेह्रौ दिन सम्म नेपाली राजदूतावास कुवेतबाट २ हजार ३५५ जना नेपालीहरुले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । नेपाली दुताबास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार यात्रा अनुमति पत्र लिनेमा ८७५ जना पुरुष ,१४४४ जना महिला र ३६ जना बालबच्चा रहेका छन् ।
गत जनवरी २९ तारिखबाट सुरु भएको आममाफीको अवधि फेब्रुवरी २२ तारिख सम्म हुनेछ । यो अवधि सम्म विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरूले जरिवाना नतिरी आफ्नो देश फर्कन पाउने छन् भने कुवेतमै बस्न चाहे जरिवाना तिरी बैध हुन सक्नेछन ।
यस्तै कुवेतमा दिइएको आममाफी प्रक्रियालाई बेवास्ता गरी कुवेत नछोडेको खण्डमा कुवेत प्रहरी द्धारा पक्राउ परे त्यस्ता बिदेशी कामदार कुवेत लगायत खाडी मुलुकमा जान नपाउने भएका छन् ।
कानून उल्लंघन गरी विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरू तथा अन्य देशका कामदारले आममाफी अबधिमा पनि कुवेत नछोडे त्यस्ता कामदारलाई खाडी मुलुकका देशहरु बहराइन, साउदी अरेबिया, कुवेत, कतार, ओमन, संयुक्त अरब इमिरेट लगायतका देशका पुन जान प्रतिबन्ध लगाइने कुवेत सरकारले जनाएको नेपाली दुताबासले सूचना मार्फत जानकारी गराएको छ ।
वि.सं.२०७४ माघ २७ शनिवार १३:५४ मा प्रकाशित



























