१६ फागुन, खोटाङ ।जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजार र बराहपोखरी गाउँपालिका–५ पौवासेरा तथा उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोशीस्थित वंशीलाघाट जोड्ने सडक सञ्चालनमा आएको छ ।
तत्कालीन सांसद विशाल भट्टराईको पहलमा २०७१ सालमा छुट्ट्याइएको पाँच करोड बजेटबाट निर्माण गरिएको २५ किलोमिटर सडक सञ्चालनमा ल्याइएको हो ।
मौवाबोटे, पौवासेरा र दिप्लुङका स्थानीयवासीले २०६८ सालमा निर्माण गर्न शुरु गरेको सडकलाई रु पाँच करोड बजेटबाट पूर्णता दिइएको स्थानीय यातायात व्यवसायी निश्चल खड्काले बताए । रु ३० लाखको खर्चमा तीन किलोमिटर ट्रयाक खोलिए पनि बजेटको अभावमा अलपत्र परेको सडकलाई भट्टराईको पहलमा पूर्णता दिइएको हो ।
सडक बनेपछि जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । सडकलाई यस पटक बराहपोखरी गाउँपालिकाले छट्ट्याइएको रु २० लाखले मर्मत गरेर सञ्चालनमा ल्याइएको बराहपोखरी गाउँपालिकाकी उपप्रमुख गोमा मगरले जानकारी दिइन ।
चिसापानी–वंशीलाघाट सडक कालोपत्र गर्न सर्भे एवं डिपिआरका काम समेत शुरु भइसकेको जनाइएको छ । उक्त सडक खण्डमा पर्ने सुनकोशीस्थित वंशीलाघाटमा पक्की पुल बनेपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो मार्ग हुनेछ । (रासस)
वि.सं.२०७४ फागुन १६ बुधवार १४:०९ मा प्रकाशित






























