back
CTIZAN AD

अमेरिकामा व्यवसाय गर्न यी कुरा ख्याल गर्नुस्

वि.सं.२०७४ चैत १० शनिवार

699 

shares

sanubabu

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै चाहेमा र आँट गरेमा नहुने र असम्भव केही छैन । र, खासै तगारोको छेकबार हुँदैन पनि । हिँड्ने मानिस नै लड्न सक्छ । तर, हिँड्नुअघि आफ्नो बाटो तय भने गर्न जरुरी छ । तबमात्रै निश्चित दूरी पार गरी निश्चित गन्तब्यमा पुग्न सकिन्छ ।
प्रसंग त्यस्तै छ, कुनै पनि ब्यापार ब्यवसाय गर्दा पनि आवश्यक चिन्तन र निश्कर्षमा पुग्न जरुरी छ । म के गर्दैछु र के गर्न खोज्दैछु भन्ने कुरा महत्वपूर्ण हुन सक्दछ । अमेरिका संसारकै एउटा अवसरको मुलुक हो । यो देशको मेरुदण्ड भनेकै साना ब्यवसाय हो । आँट, क्षमता, दुरदर्शिता, श्रोत, साधन र समयमै निर्णय गर्नसक्ने आत्मविश्वास भएमा आर्थिक स्वतन्त्रता र समृद्धिका लागि अवसर र सम्भावनाहरू प्रसस्तै छन् । आफूसँग भएको सानो श्रोत, साधन, क्षमता र ज्ञानलाई सदुपयोग गर्नुपूर्व शान्तपूर्ण वातावरणमा आफूले आफैंलाई सोध्न जरुरी छ । त्यसो हुन सकेमा गलत बाटो, गलत लगानी वा गलत ठाउँमा फसिने वा डुबिने खतरा कम हुन्छ ।
यस लेखमा मैले अमेरिकामा तपाईं ब्यापार ब्यवसाय गर्ने सोचमा हुनुहुन्छ, तपाईंसँग केही आर्थिक श्रोत संकलित छ । काम आँट्दा र केही गरौं भन्दा तपाईंका आफन्त र साथीभाइले सहयोग गरिदिने वातावरण र अवस्था छ, तपाईं अरूको काम गरेर थकित हुनुहुन्छ, तपाईंले प्राप्त गर्ने तलबले आफू र परिवारको खर्च धान्न नसक्ने अवस्था छ, तपाईंले वरिपरि मनले खाएको ब्यापार ब्यवसाय भेटाउनुभएको छ, काम गरिरहेको ठाउँमा आफैं साहु बन्न सक्ने अवस्था वा अफर प्राप्त भएको छ, तपाईंसँग आँट र त्यससम्बन्धी अनुभव छ र आर्थिक स्वतन्त्रता र समृद्धिका लागि ब्यवसाय नै तपाईंको छनौट हो भने तलका यी २० प्रश्न आफैंले आफैंलाई सोध्नुहोस् । र, यसबारे चिन्तन गर्नुहोस्, परिवारसँग छलफल गर्नुहोस्, निकटका आफन्त र विश्वासिला साथीभाइलाई सोध्नुहोस् । र, अन्तिम निर्णय आफैं गर्नुहोस् । यसले तपाईंका सोचाइ र चिन्तनलाई प्रभावकारी, आत्मविश्वासी र ढुक्क बनाउन मद्धत पुग्छ । जसले तपाईंलाई उचित समयमा उचित ब्यवसाय प्राप्ती र सफलतातिर लम्काउने छ ।
कडा परिश्रम र आफ्नो ब्यवस्थापनमा आफैंलाई विश्वास नहुनेहरूका लागि यस्ता कुरा प्रभावकारी र उचित नहुन सक्छन् ।
पहिलो प्रश्न–आफूलाई सोध्नुहोस् कि, किन तपाईं ब्यवसाय गर्न चाहनुहुन्छ ? समृद्धि र आर्थिक सम्पन्नताका निम्ति र आफ्नो आधारभूत आवश्यकता परिपूर्तिसँगै भविष्यको सुनिश्चितताका लागि प्रश्नको हल हुन सक्छ ।

दोश्रो प्रश्नः– तपाईं कस्तो प्रकारको ब्यवसाय गर्न चाहनुहुन्छ रु जसले तपाईंलाई उचित ब्यवसायको निर्णय नजिक पुर्याउन सक्छ ।

तेश्रो प्रश्नः–आफूले गर्ने ब्यवसायमा कस्तो प्रकार र खालका ग्राहक हुन सक्छन्, जसले तपाईंलाई ब्यवसायको प्रवृत्ति र ग्राहक लक्षित वर्ग छनौटमा सहयोग पुर्याउन सक्दछ ।

चौंथो प्रश्नः– कस्तो प्रकारको उत्पादन वा सेवाको ब्यापार गर्न चाहनुहुन्छ ? यसले तपाईंको छनौट, प्रवृत्ति तथा यसबाट प्राप्त हुन सक्ने मुनाफा र लगानीको आँकडालाई एउटा निश्चित दायराभित्र ल्याई आत्मविश्वास बढाउन मद्धत पुग्नेछ ।

पाँचौं प्रश्नः– के तपाईं ब्यवसाय छनौटपछि आफ्नो ब्यवसायलाई आवश्यक पर्ने समय, आर्थिक पक्ष र लगानीका लागि तयार हुनुहुन्छ ? यसले ब्यवसायपछि ब्यवसायका लागि आवश्यक पर्ने समय र आर्थिक पक्षको जोहोका लागि आफूलाई तयार गरी आत्मविश्वास बढाउन मद्धत पुग्नेछ ।

छैटौं प्रश्नः– तपाईंले गर्न चाहेको ब्यवसायको सेवा वा उत्पादन अर्को ब्यक्ति वा समूहले गरेको भन्दा के फरक छ त ? यसले तपाईंलाई डुप्लिकेसन ब्यवसायको जोखिम, बजारको सम्भावना र प्रतिस्पर्धालाई नजिकबाट अध्ययन गर्ने र सोच्ने मौका पाइन्छ ।

सातौं प्रश्नः– तपाईंले कस्तो स्थानमा ब्यवसाय गर्ने सोच्नुभएको छ ? ब्यवसाय सञ्चालनको सोच र चाहनामा स्थानको छनौट महत्वपूर्ण हुन सक्छ । राम्रो स्थानमा ब्यवसाय पर्यो भने तपाईंलाई छोटै समयमा आर्थिक सफलताको धुरीमा पुर्याइदिनेछ ।

आठौं प्रश्नः– तपाईंलाई कति जना कर्मचारी आवश्यक हुनेछ ? यसले तपाईंलाई खर्च ब्यवस्थापनमा टेवा पुर्याउँछ ।

नवौं प्रश्नः– तपाईंलाई कस्तो र कति प्रकारको सप्लायर्स आवश्यक पर्दछ ? जसले तपाईंलाई तपाईंको प्रकृतिको ब्यवसायलाई आवश्यक पर्ने सम्बन्धित कम्पनी र सामान दिने कम्पनीहरूको छनौट र पहिचानमा टेवा पुग्नेछ ।

दशौं प्रश्नः– तपाईंलाई ब्यवसाय सञ्चालनमा कति लगानी आवश्यक पर्दछ ? यसले तपाईंलाई आवश्यक लगानी र खर्चको लागि रकम जुटाउन मद्धत गर्नेछ ।

एघारौं प्रश्नः– के तपाईंलाई त्यस ब्यवसाय सुरु गर्न ऋण लिन आवश्यक छ ? यसबाट तपाईंलाई यदि तपाईंसँग आँट गरेको ब्यवसायका लागि तपाईंसँग भएको रकम नपुगको अवस्था र के कति थप आवश्यक रकम चाहिने हो ? त्यसको लेखाजोखा गर्न सहयोग पुग्नेछ ।

बाह्रौं प्रश्नः– तपाईंले ब्यवसाय कति चाँडै सुरु गर्न सक्नुहुन्छ ? यसबाट आवश्यक समयको लेखाजोखामा मद्धत पुग्दछ ।

तेह्रौं प्रश्नः– लगानी गरेको ब्यवसाय सञ्चालनपश्चात मुनाफा गर्न कति समय लाग्दछ ? यसले लगानीपश्चात तपाईंलाई लगानीको प्रतिफल प्राप्तीका लागि समय र ब्यवस्थापनको लेखाजोखा गर्न सहयोग पुर्याउनेछ ।

चौधौं प्रश्न–तपाईंको प्रतिष्पर्धी को हो त ? यसले तपाईंलाई लगानी गरिसकेपछि तपाईंको नजिकै वा वरिपरि तपाईंकै प्रकृतिको ब्यवसाय सञ्चालन गर्ने अर्को ब्यवसायी वा ब्यवसाय को हो त ? भन्नेमा आफूलाई आत्मविश्वासी र प्रतिस्पर्धात्मक रूपमा सेवालाई छिटो, छरितो र गुणात्मक बनाउन तपाईंलाई टेवा पुग्नेछ ।

पन्ध्रौं प्रश्नः– मैले कसरी प्रतिस्पर्धीको अनुपातमा मूल्य निर्धारण गर्ने ? अमेरिका भनेको प्रतिस्पर्धात्मक खुल्ला अर्थतन्त्र भएको अर्ध पूँजिपतिमा विश्वास राख्ने मुलुक हो । त्यसैले यो प्रश्नले तपाईंलाई प्रतिस्पर्धामा गई आफ्नो सेवा वा उत्पादनलाई बढी प्रभावकारी बनाउन मद्धत गर्नेछ ।

सोह्रौं प्रश्नः– तपाईंले कसरी आफ्नो ब्यवसायको कानुनी प्रक्रिया र कानुनी संरचना पूरा गर्ने ? तपाईंलाई अमेरिकामा ब्यवसायको दर्ता, कानुनी कागजात र सम्झौता, लाइसेन्सलगायतका आवश्यक प्रक्रियाहरू सम्पन्न गर्न तथा आवश्यक र सम्बन्धित क्षेत्रमा सहयोग र नियुक्ति गर्न मद्धत पुग्नेछ ।

सत्रौं प्रश्नः– तपाईंको ब्यवसायले के कस्ता प्रकारका करहरू दाखिला गर्नुपर्दछ ? यसले अमेरिकाको ब्यवसायको प्रकृति अनुसारको कर संकलन, निर्धारण र त्यस करलाई सरकारी निकायमा बुझाउनका लागि आवश्यक तयारी र ज्ञान हासिल गर्न मद्धत पुग्नेछ ।

अठारौं प्रश्नः– तपाईंको ब्यवसायले कस्तो बीमा लिनु पर्दछ र राख्नुपर्दछ ? यसले आवश्यक बीमाका लागि तयारी र बीमा खरिद गरी हुनसक्ने जोखिमबाट बचाउन मद्धत गर्नेछ ।

उन्नाइसौं प्रश्नः– तपाईंले आफ्नो ब्यवसाय कसरी ब्यवस्थापन गर्ने ? यसबाट तपाईंलाई खर्च ब्यवस्थापन, प्रशासनिक ब्यवस्थापन, कर्मचारी एवं तपाईंको ब्यवसायको आवश्यक ब्यवस्थापनका लागि तयारी र सजग गरी ब्यवसायिक सफलताका लागि अग्रसर गर्न मद्धत पुग्नेछ ।

बीसौं प्रश्नः– तपाईंले आफ्नो ब्यवसायलाई कसरी दीगो र सफल बनाउने रु ब्यवसाय सञ्चालनपश्चात ब्यवसायको स्थान, समुदाय, आर्थिक सञ्चालन, समय सापेक्ष सेवा र उत्पादनहरूको प्रभावकारी ब्यवस्थापन, गुणस्तरीय सेवा प्रदान, नेटवर्क, प्रचार प्रसार र दीगो ब्यवस्थापनका लागि तपाईंलाई मद्धत पुग्नेछ ।

यी कुराहरूका साथसाथै तपाईंमा आत्मविश्वास, लगानीको आधार, परिश्रम, ब्यवसायप्रतिको लगाव र ध्यानाकर्षणले तपाईंको नियन्त्रण कायम रहन सक्दछ । यस्ता साना ब्यवसायमा तबसम्म तपाईंको प्रत्यक्ष संलग्नता, नियन्त्रण, लगाव र परिश्रमको निरन्तरता हुन्छ, त्यतिबेलासम्म तपाईं ब्यावसायिक सफलता चुम्न सफल हुनुहुनेछ । जुन दिन यी सबै गुमाउनुहुन्छ, त्यसबेला ब्यवसायबाट लगानी पनि डुब्नेछ ।

वि.सं.२०७४ चैत १० शनिवार १३:५३ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...