१३ बैशाख, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारी जस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् ।नेकपा एमालेका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्र्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उनप्रति सम्मान गरिएको बताए । नेकपा एमालेले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताएका छन् । प्रधानमन्त्रीले भने, “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।”
वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताएका छन् । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे । उनले भने, “उहाँले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उहाँका बारेमा बुझ्न सकिन्छ ।” अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन अधिकारीबाट प्रेरणा लिनुपर्नेमा उनको जोड छ ।
अर्कापूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताएका छन् । जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उनले भने, “लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।”
एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताएकोे स्मरण गरे ।
प्रतिष्ठानका सचिवसमेत रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे ।






























