२९ असोज, काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भएको करिब छ वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
ऐन आएपछि अन्तर्जातीय विवाह गरेका कारण, चुलो वा पानी छोएका र मन्दिर प्रवेशका निहुँमा दैलेखका सेते दमाईं, कालीकोटका मनवरे सुनार, सप्तरीका शिवशङ्कर दास र काभ्रेपलाञ्चोकका अजित मिजार लगायत धेरै युवाले ज्यान गुमाउनुपरेको छ ।
छुवाछूतकै कारण नुवाकोट, धादिङ, कास्की, रुपन्देही, ललितपुर, बाग्लुङ, पर्वत, लमजुङ लगायत जिल्लाबाट धेरै दलित परिवार विस्थापित हुनुपरेको जागरण मिडिया सेन्टरले जनाएको छ । यसविरुद्ध दलित समुदायले मात्र भन्दा पनि ऐनको प्रभावकारी कार्यान्वयनका लागि राज्यले नै पहल गर्नुपर्ने दलित अगुवाको भनाइ छ । दलित आन्दोलनका अगुवा पदम सुन्दासले ऐनमा दण्डसजायको व्यवस्था अत्यन्त कमजोर भएका कारण पनि छुवाछूतका घटना दिन प्रतिदिन बढ्दै गएको टिप्पणी गर्नुहुन्छ ।
सांसद कमला विश्वकर्मा छुवाछूत सदाका लागि अन्त्य गर्न भएका ऐन÷कानुन कार्यान्वयनसँगै चेतना जगाउनुुपर्नेमा जोड दिनुहुन्छ । छुवाछूत घटनाका मुद्दालाई प्रहरी प्रशासनले दर्ता गर्न आनाकानी गर्ने र दर्ता गरे पनि मिलापत्रमै सीमित हुँदै आएको दलित समुदायले गुनासो गर्दै आएको छ । रासस
वि.सं.२०७३ असोज २९ शनिवार ०४:१२ मा प्रकाशित