अरिंगाल सब्द अहिले खुब चर्चामा छ । साच्चै भन्दा अरिङ्गालको नकारात्मक चर्चाले सामाजिक मिडियाहरु खुब रंगिएका छन् । सामाजिक मिडिया हेर्दा एकाथरी अरिंगालको बचाउमा खुब लागेका छन् भने अर्काथरी अरिगांललाई नङग्याउन ज्यान फालेर होमिएका छन् । तर, यहाँ न बचाउ पक्ष न आक्रमणकारी पक्ष कसैले पनि अरिंगालको चिल्ने भन्दा अर्को विशेषता बारेमा बोलेको पाइदैन ।
अरिंगाल एक सामाजिक प्राणी हो । यो समुहमा बस्छ र मिलेर घर बनाउनेदेखि सन्तान हुर्काउने सम्मका कार्य गर्दछ । सायद प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यहि सामुहिकताको भाव सहित अरिंगालको बारेमा बोलका थिए होलान् । तर, हाम्रो समाजको खिसि टिउरी बर्गले यसलाई नकारात्मक बनाइ छाड्यो ।
नेपालको राजनीतिमा लाक्षणिक सन्देश दिने ओली भन्दा अगाडि अर्का सन्त नेता कृष्ण प्रसाद भट्टराई समेत पटक–पटक खीसि टिउरी वर्गको सीकार भइसकेका छन् । यहाँ एउटा वर्ग छ जो किसुनजी, ओलीजी जस्ता नेताका लाक्षणिक सन्देशहरु बुझ्न त बुझ्छ तर, त्यसलाई कहिल्यै सकारात्मक भएर सोच्न सक्तैन् । पछिल्लो समय ओली त्यहि तप्काको सीकार भएका छन् । शायद यो इतिहास दोहोरिएको निर्मम उदाहरण होला ।
हो, इतिहास दोहारिदा त्यो निर्मम तरिकाले प्रस्तुत हुन्छ । जसले दोहोरिदै गरेको इतिहासलाई त्यस्तै निर्मम तरिकाले आफू अनुकुल बनाउनेनै कुसल साशक मानिन्छ । अहिले ओली यस्तै दोहोरिदै गरेको इतिहासलाई जनताको अनुकुल बनाउने पेचिलो बट्नेसोमा छन् । उनले यो बट्नेसोलाई जति कसिलो बनाउन सक्छन्, त्यति नै उनी सफल हुने छन् ।
नेपालमा इतिहास देखिनै बहुमतको सरकार नचाहाने एउटा ठूलो तप्का छ । त्यो तप्काले ०१६ सालमा विपी कोइराला सरकारले भूमिमा द्धैध स्वामित्व अन्त्यको घोषणा, राजा रजौटा अन्त्यको लागि चालिएको पहललाई त्यहि सरकार फाल्ने अस्त्रको रुपमा प्रयोग गर्यो ।
गोरखामा विभिन्न बहानामा कोइराला विरुद्ध जोगीहरु समेत उठे । अन्तत कोइरालाका जनपक्षिय कार्य नै उनको सरकार अपदस्त हुने र स्वयं उनी जेल जानुपर्ने कारक बन्यो ।
अहिले फेरि इतिहास त्यसरी नै निर्मम तरिकाले दोहोरिदै छ । कोइराला कालमा जस्तै अहिले पनि दुई तिहाइ मतको सरकार छ । बसी खान र ठगी खान पल्केको एउटा तप्का ओली सरकारका जनहितका कामलाई जनतासम्म पुग्न दिदै नदिने उद्धेश्य सहित प्रोपोगाण्डमा उत्रिइसकेको छ ।
स्वरुपमा केही फरक भएपनि सारमा विपी कालमा जस्तै अनेक हतकण्डा अपनाएर यो सरकार असफल बनाउने खेल नेपथ्यबाट सुरु भइसकेको छ भन्दा फरक पर्दैन् ।
यसैका परिणाम हुन, अघिल्लो सरकारले सेनालाई निर्माण गर्न दिएको ‘फास्ट ट्रयाक’ लाई अहिले गिजोल्नु । बन्दै गरेको दोश्रो अन्तराष्ट्रिय विमानस्थलका बारेमा अनावस्यक प्रचार गरिनु, केही समुहलाई सीगात्से–काठमाडौं उत्तरी रेल र जयनगर–काठमाडौं दक्षिणी रेल समेत नपचेको देखिन्छ । यसकारण अहिले यो समुह ओली सरकारमाथि सक्नेजति जाइ लागेको छ ।
एकवर्ष अगाडि पास भएका मुलुकी ऐन प्रतिस्थापनका संहितामा बल्ल बहस गर्दैछन् मानिसहरु । पेट्रोलियमको मुल्यवृद्धि एक अन्तराष्ट्रिय प्रक्रिया अनुसार भएको नबुझेजस्तै गरेर कुर्लिदै छन् केहि समुहहरु ।
अहिले लाग्छ विपी सरकार विरुद्ध छेडिएका अर्नगल प्रचार बारे हजुरबाले सुनाएका कथा फेरि ओली सरकारविरुद्ध प्रयोग गरिएको देखिन्छ । तर हल्लाखोरहरुलाई ओलीले कामबाट राम्रै उत्तर दिने दिन अब टाढा छैन । दोहोरिदै गरेको निर्मम इतिहासलाई नेपाली जनताको बसमा पार्न ओली सफल हुनेछन् । अरिंगाल अहिले चिल्ने मुडमा छैन । उ सामाजिक मात्रै भएर बसेको छ । तर, यस्तै गरी पुल्ठो सल्काएर अरिंगालका गोलामाथि आगो झोसिदै जाने हो भने अरिंगाल आक्रामक पनि हुनेछ ।
वि.सं.२०७५ असोज ३ बुधवार १०:१६ मा प्रकाशित