back
CTIZAN AD

धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढ्यो-अध्यक्ष दाहाल

वि.सं.२०७५ असोज ३ बुधवार

663 

shares

३ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरेका छन् ।

उनले भने, “मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।”

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै अध्यक्ष दाहालले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरे । उनले भने, “देश र जनताका बीचको तीव्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरीबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो ।”

लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए ।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, “यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्तिबिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।”

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ ।

विश्वव्यापीकरण र तीव्र विकास, सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको स्मरण गर्दै अध्यक्ष दाहालले भौतिक वातावरण र प्रविधि, संस्कृति र मान्यताका साथसाथै हाम्रा आशा र चाहनामा पनि हामी एक अर्कामा निर्भर छौँ भने ।

“विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौँ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ”–अध्यक्ष दाहालले भने, “विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ ।”

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उनले न्युयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने बताए ।

“न्युयोर्क, पेरिस वा काबुलमा हुने आतङ्कवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन”–अध्यक्ष दाहालले भने, “इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्वारा उत्सर्जित विषालु ग्यासले त्यस्तो ग्यास उत्सर्जन नगर्ने मुलुकको जलवायुमा खराब असर पारेको हुन्छ ।” आतङ्कवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्ररुपमा फैलिइरहेकामा उनले चिन्ता व्यक्त गरे ।

जनता र देशलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धि गर्ने ‘वेल्ट एण्ड रोड इनिसियटिभ’को कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको बताए ।

उनले भने, “नेपाल विश्वस्त छ कि बिआरआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवतजावतको अप्ठयारा, अवरोधलाई हटाउनेछ ।”

यातायातमा सुधार र कनेक्टीभिटीको पहुँचले एकीकृत बजारका लागि सहयोग गरी व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ प्राप्त हुने बताउँदै अध्यक्ष दाहालले बिआरआईको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा र वाणिज्यको अप्ठ्यारा हटाएर चीनसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

अध्यक्ष दाहालले भने, “हामी विश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।”

जातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउने बताए ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङले प्रायः अन्तर्राष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अध्यक्ष दाहालले भने, “शान्ति, सुरक्षा र समृद्धिको बाटोमा सँगै हिँड्न चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सद्भावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म विश्वास गर्छु ।”

शान्तिपूर्ण र स्थिर समाज तथा समावेशी विकासमा आफूहरुले सामूहिक प्रतिबद्धता जनाएको बताउँदै उनले जलवायु परिवर्तनका सन्दर्भमा दिगो विकास लक्ष्य र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका स्मरण गरेका थिए । अध्यक्ष दाहालले भने, “हामीसँग संयुक्त राष्ट्रसङ्घ जस्ता संस्था स्थापित भएका छन् र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरुले हाम्रा साझा कार्यसूचीलाई सहजीकरण गरिरहेका छन् ।”

नेपालले पटक–पटक संयुक्त राष्ट्रसङ्घ घोषणापत्रका सिद्धान्तको वकालत गर्दै आएको जानकारी गराउँदै अध्यक्ष दाहालले संविधानमा विश्व शान्तिका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बित भएको बताए ।

समारोहमा अध्यक्ष दाहालले विश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुशीसाथ व्यक्त गर्दै भने, “शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्वन्द्वको समाधान गर्ने बिरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रियामार्फत प्रस्तुत गरेका छौँ ।”

दिगो भविष्य, सुरक्षा र बचाउका लागि सामूहिक र केन्द्रिकृत प्रयासलाई जोड दिँदै उहाँले हामी सबैका लागि एउटै भविष्य निर्माण गर्न सबैसँगै मेहनत गर्नुपर्ने बताए । उनले भने, “हाम्रो भविष्यलाई राम्रो बनाउने वा खराब बनाउने हाम्रै हातमा छ । म पूर्ण विश्वस्त छु कि विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउनेछ ।”

वि.सं.२०७५ असोज ३ बुधवार १५:२९ मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...