
६ असोज, मेक्सिको । बन्दुकधारीले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् ।
यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारको संख्या मेक्सिकोमा नौ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।
“उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्की आएका थिए” उहाँका सहकर्मीले नाम नबताउने शर्तमा भने ।
पत्रिकाले दिएको जानकारीअनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता थिए । दुई जना अपरिचित व्यक्तिले उनको हत्या गरेको बताइएको छ ।
गोली प्रहार भएलगत्तै ३५ वर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । “हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,” पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ ।
सरकरी पक्षले पनि घटनामा संलग्नको खोजी भइरहेको र दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ ।
वि.सं.२०७५ असोज ६ शनिवार १७:२१ मा प्रकाशित





























