back
CTIZAN AD

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

वि.सं.२०८२ फागुन १६ शनिवार

882 

shares

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।

सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्णरूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ । विमान ठोक्किएपछि सडकमा छरिएका बैंकनोट सङ्कलन गर्न दर्शकहरू हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पछि अधिकारीहरूले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।

दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रत्यक्षदर्शीहरूले त्यसबेला मौसम अत्यन्त खराब रहेको बताएका छन् । ६० वर्षीया विक्रेता क्रिस्टिना चोकले एएफपीसँग कुरा गर्दै भारी असिना परेको र बिजुली चम्किरहेको बताए । उनको कारमा विमानको भग्नावशेष ठोक्किएको थियो । “टायर हाम्रो माथि खस्यो… मेरी छोरी घाइते छिन्, उनको टाउकोमा चोट लागेको छ”, उनले भने ।

राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले पत्रकारहरूलाई १५ देखि १६ जनासम्मको मृत्यु गणना गरिएको जानकारी दिए । “हामी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव बरामद गर्दैछौँ”, उनले भने, स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ जना घाइते भएको जनाएको छ ।

विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मृत्यु दर्ता भएको जनाइएको छ । बोलिभियन एयर नेभिगेसन तथा एयरपोर्ट प्राधिकरण नाबोलले सी–१३० पूर्वी सहर सान्ता क्रुजबाट उडेको र एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ । घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ ।

लकहिड मार्टिनद्वारा निर्मित उक्त विमानले बोलिभियन बैंकनोट बोकेको थियो, जुन दुर्घटनापछि प्रभावका कारण छरिएको थियो । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा ओसारपसार गरिएको पैसामा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानूनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ । “यसको सङ्कलन, कब्जा वा प्रयोग एक अपराध हो”, मन्त्रालयले जनाएको छ ।

दुर्घटनापछि सडकमा देखिएको अराजकताको फाइदा उठाएर केही व्यक्तिले लुटपाट गरेको सूचना प्राप्त भएको ला पाज अभियोजकको कार्यालयले जनाएको छ । अभियोजक लुइस कार्लोस टोरेसले सोधपुछका लागि १२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

दुर्घटनाका बेला चोक र उनको परिवार लुटपाटको डरले भग्नावशेष भएको गाडीभित्रै बसेका थिए । एल अल्टोका अस्पतालहरूले घाइतेहरूको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।

तीन हजार ६५० मिटर उचाइमा अवस्थित ला पाज एन्डियन चुचुराहरूले घेरिएको विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो । रक्षा मन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । (रासस/एएफपी)

 

वि.सं.२०८२ फागुन १६ शनिवार १२:१२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...