१२ असोज, राष्ट्रसंघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसङ्घमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।
ट्रम्पले संवाददातासँग भने, “मेरो विश्वास दुई राष्ट्रको निर्माण गर्नु हो, एउटा इजरायलीका लागि र अर्को यालेस्टिनीका लागि ।” विगतमा उनले यस विषयमा प्रष्ट धारणा सार्वजनिक गरेका थिएनन् ।
“मलाई दुई राज्य समाधान नै ठीक लाग्यो,” ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग तस्वीर लिँदै भने । “यही समाधानले राम्रो काम गर्लाजस्तो लाग्छ । यो मेरो अनुभूति पनि हो । अहिले तपाइँमा फरक अनुभूति पनि हुनसक्ला । तर मेरो विश्वास छ दुई राज्य समाधान नै उत्कृष्ट हो ।”
राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्ति योजना दुइदेखि चार महिनाभित्रै सार्वजनिक हुन सक्ने बताए ।
प्यालेस्टिनीले ट्रम्पको व्यवहार पक्षपातपूर्ण रहेको भन्दै कटु आलोचना गरिआएका छन । ट्रम्पले गत वर्ष जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएको घटनाबाट प्यालेस्टिनी निराश छन् ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:२७ मा प्रकाशित





























