back
CTIZAN AD

बढ्दो छ रोल्पामा बालविवाह दर, २० वर्ष नपुग्दै सुत्केरी

वि.सं.२०७५ असोज १३ शनिवार

579 

shares

१३ असोज, रोल्पा । कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन् । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ दुबैजनाले विवाह गर्ने निर्णय गरे ।

सरस्वतीले प्रेम गरेको केटासँगै बिहे गरिदिन उनको परिवार राजी भयो । प्रेम सम्बन्ध मागी विवाहमा परिणतभयो ।

विवाह गर्दा १४ वर्ष उमेर रहेकी सरस्वतीले १६ वर्षमै छोरा जन्माइन् । अहिले सरस्वतीको उमेर २० वर्ष भयो भने उनको छोराका उमेर चार वर्ष पुगेको छ । छोरालाई नजिकै विद्यालयमा भर्ना गरेकी सरस्वती आफूले भने सदरमुकाम लिवाङमा व्यापार गरिरहेकी छिन् ।

सदरमुकामको एक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गर्दा १४ वर्षकै उमेरमै विवाह बन्धनमा बाँधिन पुगिन्, रोल्पा नगरपालिका ४ की गोमा पुन । विवाहपछि लाज लागेका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् । विवाह भएको एक वर्षपछि छोरी जन्माएकी उनको पारिवारिक सम्बन्ध भने सफल हुनसकेन । फलस्वरुप १७ वर्षको उमेरमा श्रीमान्सँग सम्बन्ध विच्छेद गरिन् । उनले हाल सदरमुकाममा व्यापार गरिरहेकी छिन् ।

यी बालविवाहका प्रतिनिधिमूलक घटना पात्र हुन् । रोल्पा जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि समाजमा ठूलो सङ्ख्यामा बालविवाह भइरहेको छ । कानूनले २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ । बालविवाह गर्नेको सङ्ख्या धेरै भए पनि यस विरुद्ध निकै कम उजुरी आउने गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, आर्थिक वर्ष २०७३÷०७४ मा बालविवाह विरुद्ध दुई वटा उजुरी परेको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो सङ्ख्याका किशोरी २० वर्ष मुनिका देखिएका छन । अघिल्लो आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा यसरी गर्भवती चेकजाँच गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ४७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिए । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्ष मुनिका किशोरीले गराएका छन्, उनले बताए ।

यता अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ । बालविवाह गर्नु गैरकानूनी काम हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुन सक्छ महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भने । “बालविवाहका अधिकाँश घटना गाउँमै मिलापत्रमा टुग््याइने चलनले पनि प्रहरी समक्ष यस्ता उजुरी निकै कम आइपुग्ने गरेको छ”, आचार्यले भने ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले नियमित रुपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षासमेत सञ्चालन गरिरहेको बताइएको छ ।

सुनछहरी गाउँपालिका रोल्पाले गाउँपालिकाभित्रका विद्यालयमा हरेक शुक्रबार किशोरी शिक्षा अध्यापन गराउँदै आएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए । यसका अतिरिक्त स्थानीय सरकार, आमा समूह र विभिन्न गैरसरकारी संस्थालेसमेत बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहेको छ तर पनि जिल्लामा बालविवाह दर बढ्दो छ ।

वि.सं.२०७५ असोज १३ शनिवार १८:३९ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...