
१९ असोज, काठमाडौं । पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ७ अर्बको चल–अचल सम्पत्ति भेटिएको छ । पूर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठित नेपाल ट्रष्टको कार्यालयले हालसम्म पूर्व राजपरिवारको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको बिहिबारको बैठकमा नेपाल ट्रष्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए । सो सम्पत्तिलाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन व्यवसायीक योजना बनाएर परिचालन गर्दै आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्धेश्य रहेको उनले बताए । सो उद्धेश्य हासिल गर्न निर्देशिका बनाएको पनि उनले बताए ।
नेपाल ट्रष्टमा स्वर्गीय राजा विरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्तिअन्र्तगत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको पनि सचिव सिंहले जानकारी दिए ।
यसैगरी विदेशी मुद्रा ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने, नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगमममा ३७ सय ५० सेयर लगानी देखिएको छ । त्यस्तै रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र हेटौडाको बंगलामा अचल सम्पत्ति रहेको उनले बताए । पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिए । हालैमा दुईवटा जग्गा फेला परेको उनले पनि बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १९ शुक्रवार ०८:४६ मा प्रकाशित






























