२८ असोज । बेंसीसहर नगरपालिका–११ चिति बरबोटका तिलकबहादुर चेपाङले यो वर्षको दशैं नयाँ घरमा मनाउने सपना बुनेका थिए ।
सात पुस्ताले बिताएको झुपडी फेरेर नयाँ घरमा सर्ने उहाँको योजना यसपाली भने पुरा भएन । बरबोटकै कोपिला चेपाङको पनि नयाँ घरमा दशंै मनाउने योजना अधुरै रह्यो ।
सरकारको जनता आवास कार्यक्रमले चिति बरबोटमा रहेका चेपाङको नौ घर बनाउन सहयोग गरेको थियो । जनता आवास कार्यक्रमअन्तर्गत अहिले पाँच घर निर्माणाधिन छन् । तर, रकम अभावमा उनीरुले घर पुरा गर्न सकेका छैनन् । “सरकारले दिएको पैसा पुगेन, हामीसँग पैसा छ्रैन, दुई कोठे घर बनाउन रु चार लाख खर्च भसक्यो, छाउने र प्लाष्टर गर्दा अझै रु दुई लाख खर्च लाग्छ”, कोपिला चेपाङले भन्नुभयो, “सरकारले दिएको पैसामा आधि मात्र घर बन्छ, अरु कताबाट ल्याउने, पैसा नहुँदा घर अपुरै भयो, दशैं नयाँ घरमा मनाउन पाएला भन्ने सोचेथ्यौँ तर पाइएन ।”
गत वर्ष जस्तो यसपटक चेपाङलाई दशैं मनाउन समस्या भने छैन् । उनीहरूलाई विभिन्न निकायले घरमै पुगेर दशैं खर्च उपलब्ध गराएका छन् । बेसीशहर नगरपालिका र रोटरी क्लबले खाद्यान्न तथा नगद रकम चेपाङ परिवारलाई दिइसकेका छन् । ‘पहिला पहिला दशैं आउँदा रुनुपथ्र्यो, यो वर्ष दशैं कसरी मान्ने चिन्ता छैन्’, अमृता चेपाङले भने, ‘दशैं खर्च त जुट्यो तर नयाँ घरमा दशैं मनाउने सपना भने पुरा भएन ।”
जनता आवासले तीन किस्तामा घर बनाउन रकम दिने सम्झौता गरेको थियो । सम्झौताबमोजिम पहिलो किस्तामा ८३ हजार, दोस्रो किस्तामा रु एक लाख र तेस्रो किस्तामा रु एक लाख ४९ हजार पाउनुपर्ने थियो । तर अन्तिम किस्ता नपाउँदा घर अपुरै रहेको डिलमाया चेपाङको भनाई छ । घर बनाउन आवश्यक निर्माण सामाग्री जुटाउन नसक्दा पनि निर्माणको काम ढिलो भएको चेपाङहरू बताउँछन् ।
‘काठपात, सिमेन्ट, छड जुटाउनै गाहे भयो’, पन्चलाल चेपाङले भने,, ‘पैसा पनि समयमा पाइएन, सामान जुटाउन पनि सकिएन, घर बनाउनै गाहे भयो ।’
वि.सं.२०७५ असोज २८ आइतवार ०६:५५ मा प्रकाशित