२६ कात्तिक, इस्लामाबाद, पाकिस्तान । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, “चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।”
यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले भने, सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि वृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले भने, “मेरो सरकारले छिट्टै गरिबी निवारणका प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” उनले थपे, “यस उद्देश्यका लागि शृङ्खलाबद्ध सहायक पहलहरू हुने छन् ।”
इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उनले बताए ।
पाकिस्तानको आर्थिक सर्वेक्षण २०१८ ले २० करोड ७० लाख जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले आवासविहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गर्नुभएको छ । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान सरकारको रहेको छ ।
वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:४४ मा प्रकाशित