२९ कात्तिक, कोलम्बो । श्रीलङ्काका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तिलकरत्ने दिलशन बुधबार राजनीतिक पार्टीमा प्रवेश गरेका छन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेको पार्टीमा दिलशन प्रवेश गरेका अधिकारीहरूले जनाएका छन् ।
राजापाक्षेलाई संसदबाट अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री बन्न नमिल्ने घोषणा गरिएकै दिन दिलशन उहाँकै पार्टीमा प्रवेश गरेका छन् ।
सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई पदमुक्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका थिए ।
विक्रमासिङ्घे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गरेर मुलुकको राजनीति तातिरहेका बेला संसदले राजापाक्षेलाई प्रधानमन्त्रीबाट हटाइएको घोषणा गरेको हो ।
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि राजापाक्षे पनि नयाँ पार्टीमा संलग्न भएका थिए । त्यही नयाँ पार्टी श्रीलङ्का पिपल्स फ्रन्ट (एसएलपीपी) मा ४२ वर्षीय दिलशन पनि प्रवेश गरको समाचारमा जनाइएको छ ।
पार्टी प्रवेशका बारेमा दिलशनले कुनै प्रतिक्रिया दिएका छैनन् । तर पार्टीले भने पार्टीका वरिष्ठ नेतामार्फत उहाँले सदस्यता लिएको भन्दै फोटो सार्वजनिक गरेको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान दिलशनले ८७ वटा टेष्ट खेलेका छन् ।
श्रीलङ्कामा अरू पनि धेरै वरिष्ठ खेलाडी राजनीतिमा प्रवेश गरेका छन् । श्रीलङ्काको तर्फबाट विश्वकप विजेता अर्जुन रनतुङ्गा विक्रमासिङ्घे सरकारको मन्त्री नै बनेका थिए ।
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १०:५२ मा प्रकाशित





























