
२२ पुस, वासिङटन । संयुक्तराज्य अमेरिकाको लस एन्जलस नजिकै बाउलिङ खेलका क्रममा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा शुक्रबार राति करिब १२ बजे गोली चलेको आवाज सुनिएको बताए । प्रहरीले सातै जना पीडितहरु पुरुष रहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको थियो । लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए ।
वि.सं.२०७५ पुस २२ आइतवार ०९:३९ मा प्रकाशित





























