१ माघ, तेहरान । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत् १५ जनाले ज्यान गुमाएको इरानी स्टुडेण्ट न्यूज एजेन्सी (आईएसएनए) ले जनाएको छ ।
कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावन मार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रको एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।
काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेण्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आईएसएनएले जनाएको छ ।
इरानी सेनाकानुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनीयरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । उपचारका लागि उनलाई अस्पताल पु¥याइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिस्केकबाट मासु बोकेर उडेको थियो ।
दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन । इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एयरबाट सञ्चालनमा रहेको बताएको छ ।
वि.सं.२०७५ माघ १ मंगलवार १०:३७ मा प्रकाशित