
सन् १९१७ को अक्टोबर १५ का दिन फादर आर्बक्स चर्चका दुई जना भक्तिनी, क्याप्टेन बोचार्डोन र वकिल मैत्रे क्लुनेट जेलभित्र प्रवेश गर्दा उनी अर्थात् मार्गरिटा गीर त्रुइदा जेले उठेकै थिइनन् । मृत्युदेखि रत्तिभर नडराइकन निदाइराखेकी उनलाई भक्तिनीहरुले उठाए । निन्द्राबाट ब्युझनेबित्तिकै उनले सोधिन्– बेला भयो ? के म दुईटा चिठी लेख्न सक्छु ?
क्याप्टेन बोचर्डोनले उनको आग्रहलाई स्वीकार्दै कलम, कागज, मसी र खाम ल्याइदिए । मार्गरिटा पलङ्गको कुनामा बसेर पत्र लेख्न थालिन्– छोरी जियनी लुइस र प्रेमीहरु भादिम डे मस्लोफ तथा बारोन डे मार्गुरीको नाममा । पत्र खामभित्र हालेर आफ्ना वकिल क्लुनेरलाई दिँदै तिघ्रा माथिसम्म छोपिने सिल्कको कालो मोजा लगाइन् । अग्लो कुर्कुच्चो भएको जुत्ताको फित्ता पिडुलासम्म कसिन् । ह्याङ्गरमा झुण्ड्याइराखेको भुवादार भेल्भेटको ओभरकोट झिकेर सुत्दाको पातलो नाइट गाउनमाथि लगाइन् । कालो लामो कपाल कोरेर त्यसमाथि ह्याट लगाइन् । कालो रङ्गको पञ्जा भिरेपछि भनिन्– ‘ल, म तयार भएँ ।’
‘जाऊ“ जेलका एक पुरुष कर्मचारीले कुममा हात राख्दा भने उनी घनघोर रिसाइन् र भनिन्– ‘म अपराधी होइन ।’
उनी क्याप्टेन र पादरीहरुको पछि लागिन् । गाडी पेरिसको सडकमा बेतोडले हुइकियो । त्यतिखेर स्थानीय समयअनुसार बिहानको सा“ढे पा“च मात्र बजेको थियो । गाडी कासार्ने डे भिन्सेनतर्फ बढ्यो । यो सन् १८७० मा जर्मनी सेनाले ध्वस्त पारेको पुरानो सैनिक किल्ला थियो । किल्लाभित्र १२ जना सैनिक बन्दूक बोकेर लाइनमा खडा थिए । अगाडि हातमा तरबार बोकेका एकजना अधिकृत थिए । एकैछिनमा त्यहा आइपुगेको गाडीबाट सबैजना उत्रिए । मार्गरिटा सबैभन्दा पछि थिइन् । उनीहरु सबैजना मृत्युदण्ड दिन बनाइएको स्थानमा गएर उभिए ।
पछाडि करिब ७/८ फुट अग्लो पर्खाल मृत्युदण्ड दिइदा सैनिकले चलाएको गोलीको निशाना चुकेका खण्डमा गोली बाहिर नजाओस् भन्ने हेतुले बनाइएको थियो । पादरी आर्बक्सले दुई जना भक्तिनीलाई मार्गरिटाको टाउको कपडाले छोपिदिन इशारा गरे । तर, उनले टाउको छोप्न अस्वीकार गरिन् । सैनिक अदालतका कर्मचारीले मृत्युदण्डको आदेश पढेर सुनाए । सार्जेन्ट मेजरले हात डोरीले बा“ध्न कोशिश गरे तर उनले यसको आवश्यकता नभएको बताइन् । उनको कुरा सुनिसकेपछि फायरिङ स्क्वायडको नेतृत्व गरिरहेका लेफ्टिनेन्टले जवानहरुलाई भने– ‘ठीक छ, केही छैन, यो आइमाईलाई राम्रोसग थाहा छ, कसरी मर्नुपर्छ भनेर !
यसपछि पादरीलगायत सबै जना त्यहाबाट हटे । जवानहरु निशाना साधेर तम्तयार भए । सबैको निशाना मार्गरिटाको छातीतर्फ थियो । मार्गरिटा हलचल नगरी उभिएकी थिइन् । युवा लेफ्टिनेन्टले यसैबेला ‘जुए’ भनी कराए र तरबार हावामा नचाए । मार्गरिटाले ‘धन्यवाद’ भन्दै सबै सेनातर्फ ‘फ्लाइग किस’ फ्याँकिन। प्रत्येक राइफलबाट गोली छुट्यो । उनी गोली लागेर पनि भूइमा लडिनन् । बरु दुवै हात उठाइन् र बिस्तारै घुडाले टेकिन् । अनि लड्खडाउदै उत्तानो परेर लडिन् । उनले टाउको उठाउने असफल प्रयास गरिन् तर सकिनन् र आकाशतर्फ हेर्न थालिन् ।
अर्का लेफ्टिनेन्टले कम्मरमा झुण्ड्याइराखेको होलेस्टरबाट हत्तपत्त पेस्तोल निकाले र कञ्चटमा तेस्र्याएर गोली दागिदिए । गोलीले सिधै मस्तिष्कलाई छेड्यो । प्राणपखेरु उड्यो । उनी शान्त भइन् ।
मार्गरिटा उर्फ माताहारी सन् १९१७ को फेबु्रअरी १३ मा फ्रान्समा पक्राउ परेकी थिइन् । उनीमाथि शत्रुराष्ट्र जर्मनीको लागि जासुसी गरेको आरोप थियो । जेल पठाउनुअघि उनलाई सैनिक वकिल पियरी बौचार्डोनको कार्यालयमा थुनिएको थियो । त्यहीं उनले पहिलो बयानमा आफू निर्दोष भएको र कसैले फसाउन खोजेको दाबी गरेकी थिइन् ।
बौचार्डोनले चलाएको मुद्दा शुरुमा निकै कमजोर थियो । तर, सोधपुछको दौरान उनी माताहारीका थुप्रै गल्ती फेला पार्न सफल भए । त्यतिमात्र होइन, मार्च ६ को दिन फेरि जासुसीकोड ‘एच. २१’ को नाउ“मा जर्मनीले पठाएको गुप्त भाषाको पत्र बौचार्डोनको हात प¥यो । यद्यपि, माताहारीले फेरि पनि आफू निर्दोष भएको बताउ“दै बौचार्डोनलाई लामो पत्र लेखिन् र म्याड्रिडमा भएको घटनाबारे सविस्तार वर्णन गरिन् ।
उनको मुद्दामा ज्यान फालेर लागेका बौचार्डोन र क्याप्टेन लाडौक्सले अर्को गतिलो प्रमाण फेला पारे । एम्स्टर्डमस्थित जर्मन कन्सुलर क्रोमरले सन् १९१६ मेको एक दिन राति माताहारीलाई उनकै घरमा फोन गरेका थिए । कल रेकर्डअनुसार उनलाई माताहारी पेरिस फर्कन लागेको थाहा रहेछ । उनले जर्मनीको लागि सूचना संकलन गरेमा २० हजार फ्रान्क दिने आश्वासन दि“दै माताहारीको कोड एच. २१ नै प्रयोग गरेका थिए । बयानकै क्रममा माताहारीले आफू दुस्साहसी भएको तर पेशेवर जासुस नभएको बताइन् तर पनि बौचार्डोन र लाडौक्सले विश्वास गरेनन् र सोधपुछ जारी राख्दै मुद्दा न्यायालयसमक्ष हस्तान्तरण गरिदिए ।
प्रथम विश्वयुद्धताका जासुसीकै आरोपमा एक हजार जना बिदेशीलाई देशनिकाला गरिएको थियो, थप पाँचसयमाथि मुद्दा चलाइएको थियो र तीमध्ये तीन सय जनालाई मृत्युदण्डको सजाय“ दिइएको थियो । माताहारी ती सबैमध्येकी चर्चित जासुस थिइन् । अन्त्यमा सैन्य अदालतले सन् १९१५ देखि १९१७ सम्म फ्रान्सविरुद्ध जासुसी गरेको आरोपमा उनलाई फायरिङ्ग स्क्वायडद्वारा गोली हान्न लगाएर मार्ने फैसला सुनायो । अदालतको फैसलामा उनको कारण ५० हजार फ्रान्सिसी सैनिक युद्धमा मारिएको उल्लेख छ । मारिँदा उनको उमेर ४१ थियो । कोही पनि मृत शरीर हेर्न र लिन आएनन् । यसर्थ, उनको शरीरबाट टाउको छुट्याइयो र चिकित्सा विज्ञानको अध्ययनार्थ पेरिसको म्युजियममा राखियो ।
प्राचिन इजिप्टकी रानी क्लियोपेट्रापछि सम्भवतः माताहारी नै होलिन्, जसको जीवनीलाई लिएर धेरै चलचित्र, टेलिश्रृंखला, पुस्तक र गीतहरु निर्माण भएका छन् । उनको विषयमा चौधवटा चलचित्र तथा सिरियलहरु बनिसकेका छन् । नौ वटा पुस्तक प्रकाशित छन् । स्मरणीय छ, प्रसिद्ध साहित्यकारद्वय म्याक्सिम गोर्की र एच.जी. वेल्सस“ग प्रेम गरेकी मौरा बुडबर्गलाई ‘रुसी माताहारी’ भन्ने गरिन्थ्यो ।
माताहारी ह्याट व्यापारीकी छोरी थिइन् । शुरुको बाल्यकाल बैभवशाली थियो तर बाबुको व्यापार चौपट भएपछि पालन–पोषण र पढाइ मामाले गर्न थाले । १८ वर्षको उमेरमा डच केटी माताहारीले उमेरमा आफूभन्दा २० वर्ष जेठा सैनिक क्याप्टेन रुडोल्फ म्याकलोयडसँग प्रेम गर्न थालिन् र तीन महिनामै बिहे गरिन् । रुडोल्फ हल्याण्ड नियन्त्रित इण्डोनेशियाको जाभा प्रान्तमा खटिएका डच सैनिक थिए । त्यसकारण बिहेको लगत्तै पति–पत्नी जाभाको लागि रवाना भए । त्यहा“ पुगेपछि माताहारीलाई थाहा भयो– रुडोल्फ रोगी रहेछन् । केही समयमै खटपट शुरु भयो । उनले रुडोल्फको कुटाई खान थालिन् । तर, यसको बाबजुद छोरो नर्मन जोन र छोरी जियनी लुइसको आमा बनिन् ।
सन् १८९९ मा उनीहरुकै नोकर्नीले नर्मन र जियनीलाई विष ख्वाइदिइन् । नर्मनको मृत्यु भयो भने जियनी बालबाल बचिन् । यो घटनापछि उनले रुडोल्फलाई छाडेर भाग्ने निधो गरिन् । र, १९०२ मा पेरिस पुगिन् । उनी इण्डोनेशियाई नृत्यमा निपुण थिइन्, त्यसैले पेरिस पुगेपछि क्लबमा नाच्न थालिन् । त्यहाँ उनी ‘जाभाली राजकुमारी’को उपनामबाट प्रख्यात भई ‘माताहारी’को नामले नाङ्गो नाचसमेत गर्न थालिन् । बेश्यावृत्ति पनि शुरु गरिन् । उनी ब्रसेल्स, स्टकहोम, लिस्बन सबैतिर छाइन् । नृत्यकै दौरान उनको भेटघाट तथा उठबस कुलिन घरानाका व्यक्ति, सरकारी तथा सैनिक अधिकृतहरुसित हुन थाल्यो । र, प्रेमी भिन्सेन्ट लाडुले उनको सुन्दरता, छिट्टै कथा बुन्नसक्ने बानीलाई मध्यनजर राख्दै जासुसीको तालिम दिए ।
सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भयो । उनी फ्रान्सिसी जासुस बनेर बेल्जियम पुगिन् । बेल्जियम त्यसबेला जर्मनीको नियन्त्रणमा गइसकेको थियो । त्यहीं उनको भेटघाट जर्मन कन्सुलरसँग भयो । उनी डच थिइन् र हल्याण्ड प्रथम विश्वयुद्धमा तटस्थ बसेको थियो, जसको कारण उनलाई यताउता जान कुनै कठिनाई भएन । उनी स्पेन, लण्डन, मस्को गैरहन्थिन् । यसबीच मेड्रिडमा खटिएका जर्मन सैनिक सहचारीले ‘एच २१’ लाई सहयोग गर्नु भन्ने रेडियो सन्देश बर्लिन पठाएको फ्रान्सिसीहरुले पत्ता लगाए । उनीहरु ‘एच २१’ कोड भएको जासुसको खोजी गर्दै थिए, त्यसैबेला १९१७ को फेबु्रअरी १३ मा माताहारी स्वदेश (पेरिस) फर्किन् । र, पक्राउ परिन् । होटलको कोठाबाटै पक्राउ परेको बेला फ्रान्स युद्धमा कमजोर अवस्थामा पुगिसकेको थियो । उनीबाट धेरै गोप्य कुरा पत्ता लागेको र उनी पक्राउ नपरेको भए प्रथम विश्वयुद्धको रुपरेखै बेग्लै किसिमको हुनसक्ने दाबी फ्रान्सको थियो ।
(जनआस्था साप्ताहिकबाट साभार)
वि.सं.२०७५ माघ १० बिहीवार १३:२६ मा प्रकाशित