

१२ कात्तिक, काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भएको बताउनुभएको छ ।
नयाँदिल्लीमा हिजो सम्पन्न उक्त बैठकमा भाग लिएर आज अपराह्न स्वदेश फर्कनुभएका उहाँले बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत विचारविमर्श भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“बैठक उपलब्धिमूलक रह्यो, विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन गर्न हामीले ठोस रुपमा कुरा राख्यौँ । बैठकको परिणाम चाँडै देखिनेछ ।”
विद्युत् व्यापारको सुनिश्चितता, त्यससम्बन्धी कानुनी प्रावधान अन्त्य गर्ने, विशाखापट्नम बन्दरगाह सञ्चालन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई दुवै पक्षले अन्तिम रुप दिने, विकास आयोजनासम्बन्धी सबै समस्या शीघ्रातिशीघ्र समाधान गर्नेलगायत विषयमा गहन छलफल भएको जानकारी उहाँले दिनुभयो ।
बैठकमा दुवै मुलुकबीच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाबारेमा समीक्षा हुनाका साथै भूकम्पपीडितको सहायतार्थ भारतले उपलब्ध गराएको सहुलियत ऋण तथा महाकाली पुल र सडक तथा सिँचाइ परियोजना कार्यान्वयनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहमति भएको थियो । रासस
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १०:५६ मा प्रकाशित